हमास र युद्धका लागि प्यालेस्टिनी समर्थन उच्च


 

गाजा क्षेत्र र प्यालेस्टिनी प्राधिकरण (पिए)मा बस्ने प्यालेस्टिनीबीच बजारी गरिएको एक सर्वेक्षणमा युद्धका बावजुद हमासका लागि लोकप्रिय समर्थन उच्च रहेको पाइएको छ ।

रमल्लाहस्थित प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्वे रिसर्चले गरेको सर्वेक्षणअनुसार ७१ प्रतिशत प्यालेस्टिनीले अक्टोबर ७ मा हमासले इजराइलमा गरेको आक्रमणलाई समर्थन गरेका छन् । यो धारणा पिए र गाजा क्षेत्रमा समान रहेको पाइएको छ ।

सर्वेक्षणमा हमाससँग प्यालिस्टिनी समर्थन (पिएमा ७५ प्रतिशत र ६२ प्रतिशत गाजामा)७० प्रतिशतमा स्थिर रहेको पाइएको छ  । हमासका नेता याह्य सिनवारलाई (६८ प्रतिशत पिएमा र ५२ प्रतिशत गाजामा) ६१ प्रतिशतले समर्थन गरेका छन्  । सर्वेक्षणमा फतहप्रतिको सन्तुष्टि धेरै कम २७ प्रतिशत र पिएका राष्ट्रपति महमुद अब्बासको पक्षमा १४ प्रतिशत रहेको देखिएको छ ।

डिसेम्बरमा भएको सर्वेक्षणको तुलनाना गाजामा हमासको समर्थन १० प्रतिशतले बढेको छ भने पिएमा १० प्रतिशतले घटेको छ । युद्धपछि गाजाको नियन्त्रण कसले गर्नुपर्छ भन्ने प्रश्नमा(६४ प्रतिशत पीएमा र ५२ प्रतिशत गाजामा) ५९ प्रतिशतले हमासलाई रुचाएका थिए ।

तेह्र प्रतिशतले अब्बासबिनाको पिए छनोट गरेका छन् भने ११ प्रतिशतले अब्बाससहितको पिए छनोट गरेका छन् । यसबाहेक तीन प्रतिशतले एक वा बढी अरब देश, एक प्रतिशतले संयुक्त राष्ट्रसङ्घ र एक प्रतिशतले इजराइली सेनालाई रोजेका थिए ।

सर्वेक्षणमा प्यालेस्टिनीहरूलाई अमेरिका र उदार अरब राज्यहरूले पिए संस्थालाई सुदृढ गर्ने, दुई राज्यबीच शान्तिवार्ता पुनःस्थापित गर्ने र इजराइल तथा अरबबीचको सम्बन्ध सामान्य बनाउनकालागि योजना विकास गर्ने विचारको बारेमा पनि सोधिएको थियो । यो विचारलाई ७३ प्रतिशतले विरोध गरेका थिए ।

सर्वेक्षणमा महमुद अब्बासको अनुमोदन मूल्याङ्कन निराशाजनकरूपमा कम रह्यो । एकासी प्रतिशतले उहाँको नेतृत्वसँग असन्तुष्टि जनाए भने ८४ प्रतिशतले उनको राजीनामा माग गरे ।

अब्बासको सट्टामा राष्ट्रपतिकारूपमा हेर्न रुचाउने व्यक्तिलाई छान्न भन्दा ४० प्रतिशतले कारागारमा रहेका मारवान बरघोतीलाई, १९ प्रतिशतले हमासका नेता इस्लामाइल हानियालाई र १० प्रतिशतले हमासका गाजा नेता याह्या सिनवरलाई समर्थन गरेका छन् भने १८ प्रतिशतले कसैलाई समर्थन गरेनन्। बाँकी उत्तरदाताले पिएका नागरिक मामिलामन्त्री हुसेन अल–शेख, हाल निर्वासनमा रहेका मोहम्मद दहलान, हमासका वरिष्ठ नेता खालेद मसाल र पूर्व पिए प्रधानमन्त्री मोहम्मद श्तायेहलाई रुचाएका थिए ।

पिएमा ८३० र गाजा क्षेत्रमा ७५० गरी प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्वे रिसर्चले एक हजार ५८० व्यक्तिलाई प्रश्न गरेको थियो ।