काठमाडौं । आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् । बिहीबार अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटमा नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् ।
दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्राउन इच्छुक रहेको जानकारी उनले दिइन् । उनले भनिन्, ‘नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौं । लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु।’
उनका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आगामी साता स्वीट्जरल्याण्डबाट ‘वित्तीय विकासका लागि संयुक्त मिसन’ नेपाल आउँदैछ। मिसन टोलीले सरकारी अधिकारीहरुका साथै नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ ।
आगामी २३ अगष्टमा स्वीस ग्लोबल इन्टर प्राइजेजकातर्फबाट पनि प्रतिनिधिण्डल नेपाल आउने तयारीमा रहेको जानकारी राजदूत डेनिएलले दिइन्। उक्त टोलीले नेपालको निजी क्षेत्रसँगको सहकार्यमा आयात–निर्यातसम्बन्धी क्षेत्रमा सहकार्यको चाहना राखेको उनको भनाइ थियो ।
मन्त्री पुनले स्वीटजरल्याण्ड नेपालको पुरानो मध्येको एक महत्वपूर्ण विकास साझेदार रहेको तथा द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको चर्चा गरे। आगामी दिनमा समेत सम्बन्ध थप राम्रो हुँदै जाने विश्वास उनको थियो। मन्त्री पुनले पर्वतीय पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा लगानी गर्नका लागि स्वीट्जरल्याण्डका लगानीकर्तालाई आग्रह गरिदिन आग्रह गरे । पुनले लगानी सम्मेलनमा उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धताका लागि धन्यवाद दिँदै त्यसअघि नै लगानीको वातावरण बनाउने गरी संसदबाट कानून संशोधनको काम गर्न चाहेको जानकारी दिए ।
उनले भने,‘मैले निजी क्षेत्रका प्रतिनिधिहरुसँग लगानीको भरपर्दो वातावरण बनाउने र लगानी सुरक्षाको ग्यारेण्टी गर्ने वातावरण बनाउनुस्। लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध छ भनेको छु । १२ वर्षअघि पनि अर्थमन्त्री भइसकेका कारण मप्रति निजी क्षेत्रको पनि विश्वास र भरोसा छ।’

प्रतिक्रिया