सन् २०२३ मा विश्वभरमा आप्रवासन मार्गमा कम्तीमा आठ हजार पाँच सय ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले बताएको छ ।
एक दशकअघि सुरु गरिएका रेकर्डपछिको यस वर्ष सबैभन्दा घातक वर्ष बनेको छ ।
सन् २०२३ मा मृत्यु हुनेको सङ्ख्या सन् २०२२ को तुलनामा २० प्रतिशतले बढेको छ । यसले जीवनको थप क्षतिलाई रोक्नका लागि तत्काल कदम चाल्नुपर्ने देखाएको छ । गत वर्षको कूल सङ्ख्याले सन् २०१६ को पछिल्लो रेकर्डलाई तोडेको छ ।
सन् २०१६ मा आप्रवासनका क्रममा आठ हजार ८४ जनाको मृत्यु भएको थियो । आइओएमका अनुसार सुरक्षित तथा नियमित बसाइँसराइ मार्ग सीमित भएकाले प्रत्येक वर्ष हजारौँ मानिस असुरक्षित परिस्थितिमा अनियमति मार्गबाट बसाइँसराइको प्रयास गर्छन् ।
भूमध्य सागर पार गर्न आप्रवासीहरूका लागि सबैभन्दा घातक मार्ग भएको छ । यसमा गत वर्ष कम्तीमा तीन हजार एक सय २९ जनाको मृत्यु र बेपत्ता रेकर्ड गरिएको छ । सन् २०२३ मा कूल आप्रवासीको मृत्युमा आधाभन्दा धेरै मृत्यु डुबेर भएको छ ।

प्रतिक्रिया