जुलियन असान्ज अमेरिका सुपुर्दगीविरुद्धको मुख्य सुनुवाइमा अनुपस्थित


विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकामा सुपुर्दगीविरुद्धको आफ्नो अन्तिम पुनरावेदनको सुनुवाइमा लन्डनको अदालतमा अनुपस्थित भएका छन् ।
दुई दिने सत्रको सुरुवातमा असान्जका वकिल एडवर्ड फिट्जगेराल्डले लन्डनको उच्च अदालतलाई असान्जको स्वास्थ्य ठिक नभएको र उनी व्यक्तिगतरूपमा वा भिडियो लिङ्कमार्फत सुनुवाइमा सहभागी नहुने बताएका छन् ।

सुनुवाइ हुनुभन्दा अघि नै पुगेर असान्जकी श्रीमती स्टेलाले प्रदर्शनकारीहरूको भिडलाई धन्यवाद दिएकी थिइन् । त्यसक्रममा अदालत बाहिर भिडले ‘फ्रि जुलियन असान्जे’ भन्ने नारा लगाएका थिए । विकिलिक्सले सन् २०१० मा इराक र अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भएको युद्धसँग सम्बन्धित फाइलहरू प्रकाशन गरेकामा सन् २०१८ र सन् २०२० को बीचमा धेरै पटक आरोप लगाएपछि वासिङ्टनले अस्ट्रेलियाली नागरिक असान्जेलाई सुपुर्दगी गर्न चाहन्छ ।

यदि यसै साता पुनरावेदन गर्ने प्रयास सफल भयो भने उनीसँग लन्डनको अदालतमा आफ्नो मुद्दामा बहस गर्ने अर्को एउटा अवसर हुनेछ जसमा पूर्ण सुनुवाइको मिति निर्धारण हुनेछ ।