काठमाडौं । नेपालले एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडालाई २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गरेको हो ।
नेपालबाट ओपनर भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्कासहित ६२ रन बनाए । आरिफ सेखले ५० बलमा चार चौकासहित ३८ रन थपे । सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सर्राफले १५ रन थपे । यसबाहेक, ओपनर आसिफ सेख र कप्तान रोहितकुमार पौडेलले समान आठ रन बनाए ।
रिजन ढकाल चार रनमा पभेलियन फर्किदा सूर्य तामाङले १० रन थपे । क्यानडाका उदय भगवानले तीन विकेट लिए । नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय शृंखलाका लागि क्यानडालाई निम्ताएको हो । आजको खेलपछि नेपालले शनिबार दोस्रो र सोमबार शृंखलाको तेस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया