सरकारले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्छः मन्त्री ज्वाला


 

चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताएका छन् ।

शनिबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री  ज्वालाले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको समाधान निकाल्ने बताए । उनले भने, “जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ ।” तत्काललाई अध्ययनको काम रोकिएको उनले जानकारी दिए ।

जनताको असन्तुष्टि गुनासाका विषयमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए । उनले भने, “आज हामी यहाँको अवस्था केहो, के कति क्षति हुन्छ भन्ने विषयमा छलफलबाट निष्कर्ष निकाल्ने छौँ ।”

जनप्रतिनिधि, दलका प्रतिनिधि र सरोकारवालाबीच आजै छलफल गरिने उनले बताए । पूर्वपश्चिम रेलमार्गाको रेखाङ्कनको विषयमा आफूहरु छलफलका क्रममा रहेको उनले बताए ।  विवाद आइसकेपछि काम अहिलेका लागि स्थगित गरिएको उनको भनाइ छ ।

वास्तविकता के हो र यसबाहेकका विकल्प के हुनसक्छ भन्ने विषयमा छलफल गरेर जनताको गुनासो सम्बोधन हुने उनले बताए ।  फरक प्रसङ्गमा मन्त्री ज्वालाले सडक निर्माणका लागि बजेटका कारण समस्या भएको बताए । सडक निर्माणका लागि पर्याप्त बजेट नहुँदा आयोजना तीव्र रुपमा अघि बढ्न नसकेको उनले बताए ।

उनले भने, “३७ अर्ब बजेट घटाइएको छ, बजेट घटेपछि स्वाभाविकरुपमा आयोजना प्रभावित भएका छन् ।” बजेटको अभाव र निर्माण व्यवसायीको ढिलाइले समेत समस्या भएको उनको भनाइ थियो । यी समस्या समाधान गर्दै अघि बढेको उनले बताए । बजेटका विषयमा अर्थ मन्त्रालयसँग छलफल गर्दै देखिएका समस्या समाधान गर्दै मन्त्रालय अघि बढेको उनले बताए ।