काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले सधैं सत्ता गठबन्धनकै भर पर्न नहुने बताएका छन् । शुक्रबार पार्टीको भातृसंगठन नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठनको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पार्टीले एक्लै जित हासिल गर्नेगरि काम गर्न पार्टी कार्र्यकर्तालाई आग्रह गरे ।
उनले गठबन्धन कहिले बन्ने र कहिले भत्किने भएकाले एक्लै चुनाव जित्ने आँटका साथ अघि बढ्नुपर्ने बताए । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टी सिध्याउने षड्यन्त्रमा लागिरहेको आरोप लगाए । उनले जतिसुकै षड्यन्त्र गरेपनि आफ्नो पार्टीले केही गर्न नसक्ने बताए ।
उनले भने, ‘हामी पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजेका छन् । हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । तिनीहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दैन ।’
उनले समाजवाद रुपान्तरणका लागि अन्तिम विकल्प लेनिनवादी र माक्सवादी कम्युनिष्टहरु भएको बता । अध्यक्ष नेपालले पार्टी सम्वद्ध संघ संगठनहरुले समाज रुपान्तरणको अभियानमा महत्वपूर्ण भूमिका खेलेको बताए । अध्यक्ष नेपालले मुलुकमा रहेका तमाम समस्याहरुको समाधानका लागि समय र परिस्थिति अनुसार गतिशिल हुनुपर्ने बताए ।

प्रतिक्रिया