देशको कुनै पनि भागलाई अलग गर्ने प्रयास अस्वीकार्यः राष्ट्रपति अब्बास


प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बासले आफ्नो वेस्ट बैंक मुख्यालयमा एकजना शीर्ष अमेरिकी अधिकारीसँगको वार्तामा गाजा प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग भएको बताएका छन् ।

इजरायलले गाजामा आक्रमण तीव्र पारेपछि संयमका लागि अन्तराष्ट्रिय आह्वान जारी रहेका बेला यो भेटघाटको विशेष अर्थ राखिएको छ । राष्ट्रपति अब्बासले भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई गाजा प्यालेस्टाइन राज्यको अभिन्न अङ्ग भएको बताए । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी भेटमा राष्ट्रपतिले कुनै पनि भागलाई अलग गर्ने प्रयास अस्वीकार्य हुने बताएका छन् ।

अब्बासले जारी इजरायली आक्रमणलाई रोक्नका लागि तत्काल आवश्यकत कदम चाल्नु पर्ने र विशेष गरी गाजामा प्यालेस्टाइनी जनतामाथि आजका दिनमा भइरहेको नरसंहारको अन्त्य हुनुपर्ने बताए ।

इजरायली युद्धले निम्त्याएको पीडा र विनाशबाट नागरिकहरूलाई जोगाउन आवश्यक रहेको उनले बताए । हमासद्वारा सञ्चालित गाजा स्ट्रिपको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार युद्धले १८ हजार ७ सय भन्दाबढी मानिसको ज्यान लिइसकेको जनाएको छ जसमा अधिकांश महिला र बालबालिका छन् ।