भूकम्पका कारण भएको क्षतिप्रति दुःखी छौँ, तर नआत्तिनु होला, सरकार साथमा छः प्रधानमन्त्री


 

रुकुम पश्चिम ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिममा पुगी भूकम्पमा परी घाइते भएकासँग भेट गरेका छन् । भूकम्प प्रभावित क्षेत्र अनुगमनका लागि शनिबार विहान जाजरकोट र रुकुम पश्चिम आइपुगेका प्रधानमन्त्री दाहालले सोही क्रममा रुकुम पश्चिमको विभिन्न अस्पतालमा रहेका घाइतेलाई भेटेका हुन् ।

बिहान जाजरकोट पुगेका प्रधानमन्त्री दाहाल खलङ्गामा रहेको जिल्ला अस्पतालमा घाइतेलाई भेट गरेपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको मिसन अस्पताल आएका थिए ।

उनले जाजरकोटबाट केही घाइतेलाई आफू चढेको हेलिकोप्टरमा उद्धार गरेर चौरजहारीसम्म पुर्याएका थिए । चौरजहारीबाट ती घाइतेलाई सुर्खेत अस्पताल लगिएको छ ।

चौरजहारी अस्पतालमा घाइतेलाई भेटका प्रधानमन्त्री दाहाल सानीभेरी गाउँपालिकामा रहेको पालिका अस्पताल छोटेबगर, जिल्ला अस्पताल सल्ले र आठबिसकोट नगर अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रधानमन्त्री दाहालले घाइतेको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रुकुमपश्चिम र जाजरकोटले ठूलो विपत्ति भोग्नुपरेको भन्दै नआत्तिन आग्रह गरे । “भूकम्पका कारण भएको क्षतिप्रति हामी दुःखी छौँ । सरकारले तपाईंहरुका लागि उद्धार, राहत र अन्य विभिन्न कार्यक्रम गर्नेछ । तपाईंहरु नआत्तिनु होला”, प्रधानमन्त्री दाहालले भने ।

साथै उनले सरकार भूकम्पपीडितको साथमा रहेको बताए । भूकम्प गएको थाहा पाउनेबित्तिकै उद्धारको काममा कुनै कसर बाँकी नराख्ने योजनाका साथ सरकार लागिपरेको उनको भनाइ थियो । भूकम्पपीडितलाई भेट्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा पनि प्रधानमन्त्रीसँगै यहाँ आएका हु्न् ।