काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको छ । शनिबार मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालका कुशल मल्लले सर्वाधिक ९२ रन बनाए ।
उनले ४१ बल खेल्दै ९ छक्का र ३ चौका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । उनले ३४ बलमा २ छक्का र ६ चौका प्रहार गरे । नेपालले ५५ रन बनाउँदा ४ विकेट गुमाएको अवस्थामा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाले । ५ औँ विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ४५ रनको साझेदारी गरे ।
बलिङतर्फ हङकङका हरुन अरशद र मोहम्मद घजनफरले २/२ विकेट लिए । यो खेलमा विजयी भएमा नेपाल १ खेलअघि नै फाइनलमा पुग्नेछ । यसअघि बिहीवार भएको हङकङसँगकै खेलमा नेपाल ६ विकेटले र बुधवार भएको यूएईसँगको खेलमा ७ विकेटले विजयी भएको थियो । यो शृङ्खलाको फाइनल खेल आउँदो शुक्रवार हुनेछ ।

प्रतिक्रिया