काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछाडि फर्कन वा अहिलेकै यथास्थितिमा रुमलिलिने छुट आफूहरुलाई नभएको बताएका छन् । बडा दशैंको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले जनताको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्ने बताएका छन् ।
प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘यतिखेर हामी अवसर र चुनौतीको कठिन परीक्षाबाट गुज्रिरहेका छौं। लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती हाम्रासामु छ। हामीलाई पछाडि फर्किन या यत्तिकै रुमलिने छुट छैन। हामीले नेपाली जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पुरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ। यसका लागि जस्तोसुकै कठिनाइ आएपनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ।’
प्रधानमन्त्रीले पूर्वीय सभ्यता दर्शन, चिन्तन, परम्परा, संस्कृतिहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘हामीले नेपाली विशेषता र मौलिकताको सम्बर्द्धन एवं विकास गरेर ज्ञान, विज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौं। यस दृष्टिले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको छ। यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश समाज र संस्कृतिलाई थप समुन्नत तुल्याइँ राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो। योसँगै हाम्रा मौलिक पर्वहरू भित्र रहेका सकारात्मक र मानवीय जीवनमूल्यका संस्कार प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकोमा म जोड दिन चाहन्छु।’


प्रतिक्रिया