पार्टी सभापति देउवाका कारण कोशी प्रदेशमा समस्या आयोः नेता कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले संघीय सरकारलाई केही असर नगर्ने बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले कोशी प्रदेश भन्दा अन्य प्रदेश तथा केन्द्रमा पनि परिवर्तन नहुने बताएका हुन् ।

उनले भने, ‘कोशीमा विशेष खालको परिस्थिति थियो, तपाईँहरूले पनि बुझ्नु भएकै छ । केन्द्रमा पनि गठबन्धनसँगै बहुमत भएकाले कहीँ कतै पनि परिवर्तन हुँदैन ।’

कोइरालाले कोशी प्रदेश विषम परिस्थिति भएकाले अहिलेको अवस्था आएको बताए । उनले भने,’कोशीमा अहिले पनि हेर्नुहोस् त राप्रपाले विपक्षमा भोट हाल्यो नि । त्यो बेला पनि हालेको भए त मध्यावधिमा जान्थ्यो नि ।’

कोशी प्रदेश सरकारको भविष्यबारे द्विविधा भएकै कारण मध्यावधिमा जानु भन्दा अगाडि नै सल्टाएको कोइरालाले बताए । सभापति शेरबहादुर देउवाका कारण कोशी प्रदेशमा समस्या आएको उनले आरोप लगाए ।

उनले भने’सभापतिजी सँग पटक पटक छलफल भयो । उहाँले नै उद्धवजी दुई पटक सफल हन सक्नु भएन भन्नु भएको थियो । त्यसपछि मैले संसदीय दलेको नेता चेन्ज गर्नुपर्छ भनेर भनेको पनि थिएँ । तर सभापतिले रुचाउनु भएन, सभापतिले मानेको भए यस्तो समस्या आउँदैन थियो ।’