इजराइल–हमास युद्धले ओझेलमा परेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भेट्न मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन आइपुगेका छन् ।
चीनले यसै साता राष्ट्रपति सी को व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को शिखर सम्मेलनमा भाग लिन आउने एक सय ३० देशका प्रतिनिधिहरूलाई स्वागत गरेको छ ।
अतिथिको शीर्ष सूचीमा पुटिन छन् । युक्रेनमाथि रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रियरूपमा एक्लिएपछि प्रमुख विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश भ्रमण हो ।
क्रेमलिनका अनुसार बीआरआई फोरमका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता गर्नेछन् । इजराइल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको युद्ध सुरु भएपछि बीआरआई शिखर सम्मेलनलाई छायाँमा पारेको छ । “वार्ताका क्रममा अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूलाई विशेष ध्यान दिइने छ”, क्रेमलिनले विज्ञप्तिमा भनेको छ ।
यही अक्टोबर ७ मा इजराइलको इतिहासमै हमासले घातक हमला गरेपछि अमेरिकाको नेतृत्वमा पश्चिमा मुलुकहरूले इजराइलको पक्षमा आफ्नो उपस्थिति देखाउँदै आएका छन् । हमासले गरेको उक्त आक्रमण अधिकांश सर्वसाधारणसहित एक हजार चार सयभन्दा बढीको मृत्यु भएको थियो ।
अमेरिकाले चीनलाई आफ्नो ‘प्रभाव’ प्रयोग गरेर युद्धलाई घटाउन आग्रह गरेको छ । हमासको आक्रमणको बदला लिन गाजापट्टीमा बमबारी सुरु गरेपछि १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडेर भागेका छन् ।
यसै वर्षको सुरुमा चीनले पूर्व क्षेत्री शत्रुहरू इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेको थियो । साथै इजराइल–हमास द्वन्द्वको युद्धविराम गर्न र शान्ति वार्तालाई अघि बढाउन विशेष दूत झाई जुनले यसै साता मध्यपूर्व पठाएको छ । यद्यपि चीनको सरकारी प्रसारक संस्था सिसिटिभीले मध्यपूर्वको झाईले कुन मुलुकको भ्रमण गर्नुहुने हो भन्ने केही उल्लेख गरेको छैन ।
परम्परागतरूपमा इजराइल र प्यालेस्टिनी अधिकारीहरूसँग राम्रो सम्बन्ध राखेको रुसले तत्काल युद्धविरामका लागि आह्वान गरेको छ । बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा छन् तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्ररूपमा सानो साझेदार बनिरहेको छ ।
चीन रुसको सबैभन्दा व्यापारिक साझेदार मुलुक हो । गत वर्ष यी दुई मुलुकबीचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको बेइजिङ भन्सार तथ्याङ्कले देखाएको छ ।
युक्रेन युद्धमा बेइजिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गर्दै आएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र आफू यस मामिलामा तटस्थ रहेको बताउँदै आएको छ ।
बीआरआईले पुटिन र सिलाई उनीहरूको गठबन्धनलाई प्रदर्शन गर्ने नयाँ अवसर दिए पनि विज्ञहरूले दुई मुलुकबीच कुनै नयाँ ठूलो सम्झौताको घोषणा नहुने अपेक्षा गरेका छन् ।
“चीनले उच्च प्रचारका लागि कुनै पनि सम्झौतामा हस्ताक्षर गर्न मान्ने छैन भन्ने रुसलाई थाहा छ”, कार्नेगी रसिया युरेसिया सेन्टरका निर्देशक अलेक्जेन्डर गाबेयेभले भने, “सबै कार्ड चीनको हातमा छ ।”

प्रतिक्रिया