काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् ।
सोमबार साँझ सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सत्तापक्ष र प्रतिपक्ष भन्ने नभइ जनताको पक्षमा उभिने निष्कर्ष निकालेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
उनले भने, ‘दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने दलहरूको निष्कर्ष रहेकोे छ ।’ बैठकमा इजरायल घटनाका सम्बन्धमा सरकारले गरिरहेका कामहरूबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेका थिए ।
माओवादी नेता हितराज पाण्डेले इजरायल घटनामा सबै दल एक ठाउँमा उभिन आह्वान गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक दलका नेताहरूसँग छलफल गरेको जानकारी दिए ।
बैठकमा हमासको आक्रमणमा मृत्यु भएका दस जनाको शव यथाशिघ्र नेपाल ल्याएर परिवारको जिम्मा लगाउनसमेत नेताहरूले सुझाव दिएको कांग्रेस नेता रमेश लेखकले बताए । नेकपा एमालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालीहरूको उद्धार गम्भीर्यता देखाउन सरकारलाई आग्रह गरेका थिए।

प्रतिक्रिया