काठमाडौं । हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् ।
उनका अनुसार एकजना अझै बेपत्ता छन् भने चार जनाको उपचार भइरहेको छ । शनिबार हमासले इजरायलमा गरेको रकेट आक्रमणमा परेर उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, कैलालीकै आशिष चौधरी, दार्चुलाका दीपेश राज विष्ट, धनुषाका आनन्द साह, सुनसरीका राजेश कुमार स्वर्णकार, डोटीका राजन फुलारा र पदम थापा, सल्यानका प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।
सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदका अनुसार इजरायलमा अहिले चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा कार्यरत छन् भने दुई सय ६५ जना विद्यार्थी अध्ययनरत छन् । हमासको आक्रमणमा सयौं इजरायलीको मृत्यु भएको छ ।

प्रतिक्रिया