जनकपुर बिग मार्टमा आगलागी हुँदा १० करोड भन्दाबढीको क्षति


धनुषा । जनकपुरधामस्थित जनकपुर बिग एक मार्टमा गएराति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए ।

उनले आगलागीबाट १० करोडभन्दा बढीको क्षति पुगेको बताए । सञ्चालक रायले भने, “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियौं । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।”