एसियाली खेलकुदको करातेमा नेपालले जित्यो ऐतिहासिक रजत पदक


काठमाडौं । चीनको हान्झाउमा जारी एसियाली खेलकुदको करातेमा एरिका गुरूङले रजत पदक जितेकी छिन् । शनिबार ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि उनी रजतमा चित्त बुझाउन पुगिन् ।

सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् । एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।

एसियाडकै इतिहासमा भने नेपाललाई उनले करातेमा पहिलो रजत पदक जिताएकी हुन् ।