विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले स्टिल र आल्मुनियममा अर्बौं मूल्यको अमेरिकी आयातमा कर लगाउनु गलत भएको भन्दै गत महिना गरेको निर्णय त्रुटिपूर्ण भएको चीनले दावी गरेको छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले डब्लुटीओसँग निर्णय फिर्ता लिन अपील गरेको छ । जेनेभास्थित एक व्यापार अधिकारीका अनुसार विश्व व्यापार सङ्गठनको विवाद समाधान निकायका अध्यक्षले मङ्गलबार कूटनीतिज्ञहरूलाई चीनले गत महिना विज्ञहरूको एक समितिले गरेको निर्णयविरुद्ध अपील गर्ने आफ्नो निर्णयलाई सूचित गरेको बताएका छन् ।
अगष्ट १६ मा सदस्य राष्ट्रहरूलाई वितरण गरिएको आफ्नो प्रतिवेदनमा विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार युद्धभित्रका धेरै विवादहरूमध्ये एकलाई समाधान गर्न सहयोग गर्न गठित विश्व व्यापार सङ्गठनको समितिले चीनको ‘अतिरिक्त शुल्कको उपाय असङ्गत छ’ भन्ने ठहर गरेको थियो ।
चीनले सन् २०१८ को अप्रिलमा तीन अर्ब अमेरिकी डलर बराबरको १२८ अमेरिकी आयातमा कर लगाउने निर्णय गरेको थियो । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीन र अन्य केही देशबाट आयात हुने स्टिल र आल्मुनियममा भारी कर लगाउने घोषणा गरेको केही समयपछि यो कदम चालिएको थियो ।
ट्रम्पका उत्तराधिकारी अमेरिकाी राष्ट्रपति जो बाइडेनको प्रशासनले चीनविरूद्धको ब्यापार तनावमा विवाद नतन्काउने र यसलाई सकेसम्म मिलाएर लाने नीति लिएको छ । यद्यपि, करमा अडिग रहेको छ ।

प्रतिक्रिया