विश्व सङ्क्रमणकालको कठिन घडीमा रहेको राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसको भनाइ


संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जी–२० नेताहरूको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्व राष्ट्रहरूबीचको विभाजन बढ्दै जाँदा विश्वले द्वन्द्वको जोखिम सामना गरिरहेको बताएका छन् । गुटेर्रेसले नयाँ दिल्लीमा पत्रकारसँग कुरा गर्दै विभाजन बढ्दै गएको र यसले तनाव बढिरहेको बताएका हुन् ।

उनले एक अर्काबीच विश्वास कम हुँदै जाँदा एकसाथ विखण्डनको खतरा हुँदै अन्ततः टकराव बढाउने बताए । विश्वको कूल गार्हस्थ्य उत्पादनको लगभग ८५ प्रतिशत र विश्व जनसङ्ख्याको दुई–तिहाई हिस्सा ओगटेको जी–२० प्रमुख अर्थव्यवस्थाहरूको समूहमा हाल १९ देश र युरोपेली सङ्घ छन् ।

तर युक्रेनमा रुसको युद्ध र जलवायु परिवर्तनसँग जुध्न उदीयमान राष्ट्रहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा गहिरो असहमतिले नयाँ दिल्लीमा हुने दुई दिने बैठकमा सम्झौताहरूमा बाधा पुग्ने अपेक्षा गरिएको छ । गुटेर्रेसले विश्व सङ्क्रमणकालको कठिन घडीमा रहेको र भविष्य बहुध्रुवीय युगतिर जानसक्ने चेतावनी समेत दिएका छन् ।