पुराना दलले केही गर्न सक्दैनन् भन्ने कृत्रिम भाष्य खडा गरेर लोकतन्त्र समाप्त पार्ने कसैको चाहना छ भने त्यो पूरा हुँदैनः नेता लेखक


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको भन्दै यसलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा लेखकले आक्रमणको घोर निन्दा गर्दै पक्राउ परेका दोषी र अरू कसैको संलग्नता भए कारबाही गर्न माग गरेका छन् । उनले यादवको हत्या गर्ने उद्देश्यले आक्रमण भएको बताए ।

उनले भने, ‘आक्रमणकारी ज्यान मार्ने नै उद्देश्यले गरिएको हो । यो क्रूरतापूर्ण, सांघातिक र बर्बर प्रहार भएको छ । यसबाट उहाँको ज्यान बाँचेको स्थिति छ ।’

उनले  प्रतिनिधिसभाको अर्को बैठकमा यस घटना र त्यसपछि गरिएका कामका बारेमा जानकारी गराउन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानकर्षण गराएका छन् ।

लेखकले यादवमाथिको आक्रमण व्यक्तिगत नभएर प्रवृति भएको भन्दै प्रवृत्तिको निर्मम ढंगले खोजी गर्नुपर्ने बताए । उनले जनता गणतान्त्रिक व्यवस्थासँग सहमत नरहेको भन्दै कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टी खराब हुन् भन्ने कृत्रिम भाष्य निर्माण गर्न खोजिएको बताए।

उनले भने, ‘यो व्यवस्थामाथि आक्रमण भइरहेको छ । यी कृत्रिम रूपले बनाएका भाष्यहरुलाई हामीले राम्रोसँग चिन्नुपर्छ । कांग्रेसलाई खुकुरी प्रहार गरेर समाप्त पार्छु भन्ने कसैले नसोचे हुन्छ । कांग्रेस, एमाले, माओवादीलगायत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर दलहरूलाई पुराना हुन् खराब छन् यो मुलुकलाई निकास दिन सक्दैनन् भन्ने कृत्रिम भाष्य खडा गरेर लोकतन्त्र समाप्त पार्ने कसैको सपना छ भने त्यो दिवा सपना हुनेछ ।’