उत्तर कोरियाका नेता किम जङ् अन यसै महिना रुस यात्रामा निस्कन लागेका छन् । एकजना अमेरिकी अधिकारीले दुई नेताबीच जारी युक्रेन युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले अस्त्र दिन सक्ने सम्भावनाबारे छलफल गर्ने बताएका छन् ।
उनीहरूको भेट कहाँ हुनेछ भन्ने स्पष्ट भइसकेको छैन । न्यूयोर्क टाइम्सले सूत्रहरूलाई उदृत गर्दै किम जङ् अन अस्त्रले जडित बख्तरबन्द किसिमको रेलबाट यात्रा गर्ने धेरै सम्भावना रहेको बताएको छ । उत्तर कोरियाको सुदूर उत्तरपूर्वी क्षेत्रको सिमाना रुससँग जोडिएको छ ।
दुई देशबीच अस्त्रसम्बन्धी कुराकानीमा सक्रिय प्रगति भइरहेको ह्वाइट हाउसले बताए लगत्तै यो भ्रमणको समाचार बाहिर आएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन कर्बीले रुसी रक्षामन्त्री सेर्गेइ शोइगुले उनको हालैको उत्तर कोरिया भ्रमणमा प्योङ्याङलाई हतियार बेच्न मनाउने कोसिस गरेको बताएका छन् ।
उनको कुराकानीका बेला उत्तर कोरियाले ह्वासङ् अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरेको थियो । उक्त अस्त्रलाई ठोस प्रोपेलेन्ट प्रयोग गर्ने उत्तर कोरियाको पहिलो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र ठानिन्छ । साथै कोभिड महामारी यता उत्तर कोरियाले कुनै पनि विदेशी पाहुनाका लागि उसको ढोका खोलेको पनि त्यो पहिलो अवसर थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ अनले शोइगुको त्यस भ्रमणयता पत्र आदानप्रदान गर्दै ‘द्विपक्षीय सहयोग बढाउने वाचा’ गरेका छन् । यदि उत्तर कोरियाले रुसलाई अस्त्र दिएमा अमेरिकाले आर्थिक प्रतिबन्ध लगायतका कारबाही गर्ने उनले चेतावनी दिए ।
सोमबार दक्षिण कोरियाको गुप्तचर निकाय शोइगुले रुस, चीन र उत्तर कोरियाले पनि अमेरिका, जापान र दक्षिण कोरियाले जस्तै संयुक्त नौसैनिक अभ्यास गर्नुपर्ने प्रस्ताव राखेको जनाएको छ।

प्रतिक्रिया