रेलमा आगलागी हुँदा भारतको तमिलनाडुमा ९ जनाको मृत्यु


भारत तमिलनाडुको मदुराई रेलवे स्टेसननजिकै रेलमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ । लखनऊबाट तीर्थयात्री लिएर आएको रेलमा आगलागी भएको हो ।

५५ जनालाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् । अगस्ट १७ मा लखनऊबाट उक्त रेल रामेश्वरको तीर्थयात्रामा निस्किएको थियो ।

शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीले शुक्रबार नागरकोइलमा रहेको पद्मानभा स्वामि मन्दिरको दर्शन गरेका थिए । केही यात्रीले रेलभित्रै सिलिन्डर ग्याँस प्रयोग गरेर चिया पकाइरहेका थिए ।

त्यहीँबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीमा मृत्यु भएका व्यक्तिका परिवारलाई भारतीय रेल्वेले प्रतिपरिवार १० लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।