रुसलाई पेल्दै युक्रेन, मस्कोको मध्य भागमा ड्रोन आक्रमण


रुसको राजधानी मस्कोको मध्य भागस्थित एक निर्माणाधीन भवनमा ड्रोन आक्रमण भएको छ । मेयर सेर्गेइ सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राम मार्फत दिएको जानकारी अनुसार हवाई प्रतिरक्षा प्रणालीले अर्को ड्रोन मस्कोको मोजाइस्क इलाकामा खसालिदिएको थियो । आक्रमणबाट कुनै हताहत भएको खबर भने आएको छैन ।

रिया समाचार एजेन्सीका अनुसार खिम्की र मितिनो इलाकामा पनि विस्फोटनहरू भएकोबारे आपतकालीन सेवा प्रदायकहरूलाई सूचना गरिएको थियो ।

रुसको रक्षा मन्त्रालयले उसले युक्रेनबाट भएका ड्रोन हमलालाई विफल बनाइदिएको बताएको छ । मन्त्रालयका अनुसार हवाई प्रतिरक्षा प्रणालीले मस्कोतर्फ आइरहेका तीनवटा मानवरहित ड्रोनलाई खसालिदिएको थियो ।

दुईवटा ड्रोन मोजाइस्क र खिम्की इलाकामा नष्ट गरिएको तर तेस्रो ड्रोन अनियन्त्रित भइ मस्को सहरको एक व्यापारिक कम्प्लेक्समा रहेको निर्माणाधीन भवनमा ठोक्किन पुगेको उसले बताएको छ । यसै साता युक्रेनी ड्रोन आक्रमणमा परी रुसको लामो दूरीको बमवर्षक विमान नष्ट भएको थियो ।