लम्पी स्किन प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग गर्दै एमालेको प्रदर्शन


काठमाडौं । लम्पी स्किन रोग नियन्त्रणको माग राख्दै नेकपा एमालेको काठमाडौं महानगर समितिले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । लम्पी स्किन महामारी घोषणा गरेर यसको नियन्त्रणको माग राख्दै एमालेले माइतीघरमा बाजागाजासहित प्रदर्शन गरेको हो ।

लम्पी स्किन रोगका कारण हजारौ पशुको मृत्यु भएको र लाखौ पशु प्रभावित हुँदा पनि रोकथामको कुनै उपाय नअपनाएको भन्दै एमाले महानगर कमिटीले प्रदर्शन गरेको हो ।

महानगर कमिटीले किसानलाई तत्काल बीमा उपलव्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलव्ध गराउनुपर्ने माग गरेको छ ।त्यस्तै छिटो भन्दा छिटो किसानका गोठगोठमा उपचार सेवा उपलव्ध गराउनुपर्ने अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले बताए। उनले मुलुकभरका १० लाख पशु प्रभावित भएको अवस्थामा लम्पी स्किनलाई नियन्त्रणमा लिन सरकारले कुनै पहल नगरेको उल्लेख गरे ।