दक्षिणी युरोपमा अत्यधिक तापक्रम बढेसँगै इटलीका १६ सहरहरूमा चेतावनीको सूचना जारी गरिएको छ । युरोपेली देशहरूसँगै अमेरिका, चीन, उत्तर अफ्रिका र जापानमा पनि उष्णलहर देखापरेको छ ।
स्वस्थ मानिसहरूलाई पनि जोखिम पुर्याउनसक्ने तहमा उच्च तापक्रम बढ्नसक्ने भन्दै इटलीका पर्यटकीय सहरहरू रोम, फ्लोरेन्स र बोलोन्यामा सावधानी अपनाउन भनिएको छ ।
अर्को उष्णलहर युरोपतर्फ अघि बढेसँगै आगामी साता यो क्षेत्रको तापक्रम उच्च हुने ठानिएको छ । भूउपग्रहबाट जमिन र समुद्रको तापक्रम निगरानी गर्दै आएको युरोपियन स्पेस एजेन्सीले इटली, स्पेन, फ्रान्स, जर्मनी र पोल्यान्डमा अत्यधिक गर्मी हुने जनाएको छ । युरोपको मध्य भागमा रहेका जर्मनी र पोल्यान्ड लगायतका देशहरूमा पनि अत्यधिक तापक्रम पुगेको छ ।
अमेरिकामा पनि अत्यधिक तापक्रम सहितको उष्णलहरको पूर्वानुमान गरिएको छ र दक्षिणपूर्वी क्षेत्रमा चेतावनीहरू जारी गरिएको छ । तापक्रम सावधानी सम्बन्धी सूचनाले अमेरिकाको फ्लोरिडा, टेक्सस, क्यालिफोर्निया देखि वासिङ्टनसम्मका ११ करोड मानिसहरूलाई प्रभावित गरेको थियो ।
मानिसहरूले चिसोका लागि प्रयोग गर्ने वातानुकूलन उपकरण (एसी)को प्रयोगका कारण टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान बनेको छ । आगामी दिनमा करिब २ करोड ७० लाख मानिसहरूले ४३ डिग्री सेल्सियस भन्दा बढीको तापक्रम सामना गर्ने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया