सन् २०३० सम्ममा भोकमरी उन्मूलन हुने सम्भावना कमः राष्ट्रसङ्घ


विगत सात वर्षसम्म विश्वमा भोकमरी बढ्दै गएकोमा सन् २०२२ मा भोकमरी वृद्धिको अवस्था स्थिर तर महामारीअघिको स्तरभन्दा माथि रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको प्रतिवेदनमा सन् २०३० सम्ममा भोकमरी उन्मूलन हुने सम्भावना नरहेको उल्लेख गरिएको छ ।

गतवर्ष ६९ करोड १० लाखदेखि ७८ करोड ३० लाखको हाराहारीमा मानिस भोकमरीको सामना गरेका थिए । सन् २०१९ मा विश्व जनसङ्ख्याको ७ दशमलव ९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा यो सङ्ख्या बढेर ९ दशमलव २ प्रतिशत पुगेको छ ।

‘स्टेट अफ फुड सेक्युरिटी एण्ड न्युट्रिसन इन द वल्र्ड’को प्रतिवेदनअनुसार सन् २०२१ देखि २०२२ को बीचमा खाद्य सङ्कट करिब ३८ लाख मानिसको सङ्ख्यामा कमी आएकाले वार्षिक वृद्धि ‘रोकिएको’ हो ।

अफ्रिका, पश्चिम एसिया र क्यारेबियन क्षेत्रमा भोकमरी अझै बढ्दै गएकाले आत्मसन्तुष्टिको कुनै ठाउँ नभएको अधिकारीहरूले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१९ यता यी सङ्कटले थप १२ करोड २० लाख मानिसलाई भोकमरीमा डुबाएको छ ।