थाई प्रधानमन्त्रीले राजनीतिबाट सन्यास लिने


थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताएका छन् ।

युनाइटेड थाई नेसन (यूटीएन) पार्टीको आधिकारिक फेसबुक पेजमा उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब म यूटीएन पार्टीको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गर्दैछु ।’

उनले राष्ट्र, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गरेका छन् । उनको यो निर्णय थाई संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिन अघि सार्वजनिक भएको हो ।

आठ वर्षअघि सत्ता कब्जा गरेका सेना प्रमुख उनले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को निर्वाचनमा नियन्त्रणलाई सुदृढ पार्ने प्रयास गरेका थिए ।