फ्रान्समा दङ्गा फैलिएपछि राष्ट्रपति माक्रोँको जर्मनी भ्रमण स्थगित


देशभित्र देखिएको अशान्तिमाझ फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले आफ्नो जर्मनी भ्रमण स्थगित गरेका छन्। आजबाट सुरू हुने तय भएको भ्रमण २३ वर्षपछि फ्रान्सका राष्ट्रपतिको जर्मनीमा हुने राजकीय भ्रमण भनिएको थियो ।

जर्मनीका राष्ट्रपति राष्ट्रपति फ्रान्क भाल्टर स्टाइनमायरले फ्रान्सका राष्ट्रपति माक्रोँले फोन गरेर आफ्नो देशको अवस्थाबारे जानकारी गराएको र भ्रमण पछि सार्न प्रस्ताव गरेको जानकारी गराएका छन् ।

उनले जारी गरेको वक्तव्यमा भ्रमण स्थगित भएकोमा दुखः व्यक्त गर्दै आफ्नो छिमेकी देशको अवस्थाबारे आफू जानकार रहेको बताएका छन् । भ्रमणको नयाँ मिति हालसम्म तय भइसकेको छैन ।

पेरिस नजिकै भएको ट्राफिक जाँचको क्रममा गोली लागि मृत्यु भएका किशोरको अन्तिम संस्कारमा शनिवार मानिसहरूको ठूलो भीड जम्मा भएको थियो किशोर मारिएपछि अहिले फ्रान्सभरि भीषण दङ्गा मच्चिएको छ र प्रदर्शनहरू व्यापक बन्दै गएका छन् ।

सत्र वर्षीय किशोर नाहेल एममाथि एक जना प्रहरी अधिकारीले गोली प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि घटनाले उग्र रूप लिएको हो । घटनामा संलग्न अधिकारीले पीडितको परिवारसँग माफी मागेका छन्। यद्यपि उनीविरुद्ध गैरकानुनी हत्याको आरोप लागेको छ र अहिले उनी हिरासतमा छन्।