गत साता रुसको इतिहासका लागई असामान्य बन्न पुग्यो। रुसलाई भाडाका सैनिकहरू उपलब्ध गराउने वाग्नर समूहले त्यो दिन सैन्य विद्रोहको उद्घोष गर्यो। वाग्नरका लडाकुहरूले मस्कोतर्फ कुच गरे। एउटा सहमतिपछि विद्रोह साम्य भयो र लडाकुहरूलाई पछाडि हटे।
अन्तिम घडीमा गरिएको उक्त सम्झौताका अनुसार वाग्नर प्रमुख नेता येभ्गेनी प्रिगोजिन बेलारुसमा निर्वासनमा गए। शनिवारको विद्रोहमा सहभागी नभएकाहरूले रुसी रक्षा मन्त्रालयसँग करार सम्झौता गर्न पाउने छन्। सहमतिपछिको एक टेलिग्राम पोस्टमा प्रिगोजिनले सम्भवतः रुसी रक्षा मन्त्रालयप्रति सङ्केत गर्दै उनीहरूले वाग्नर समूहलाई ‘भङ्ग गर्न’ चाहेको बताएका थिए।
तर अकस्मात् उनले शक्ति प्रदर्शन गर्नुको कारण त्यही मात्र थियो भन्ने चाहिँ अझै स्पष्ट छैन। त्यसपछि उनी मौन रहे। सोमवार साँझ उक्त मौन भङ्ग गर्दै एउटा श्रव्य सन्देशमा उनले सोही कुरा दोहोर्याउँदै रक्षा मन्त्रालयसँग सम्झौता गर्न कोही पनि सहमत नभएको र भाडाका सैनिक उपलब्ध गराउने उनको कम्पनी जुलाई १ मा भङ्ग हुन लागेको बताए।
यदि वाग्नर समूह भङ्ग भएमा हाल विभिन्न देशमा रहेका वाग्नरका लडाकुलाई के हुन्छ भन्ने अझै स्पष्ट छैन। यो समूह हाल लिबिया, सुडान, सिरिया, माली, सेन्ट्रल अफ्रिकन रिपब्लिक, मोजाम्बिक, भेनिज्वेइला, बुर्किनाफासो र म्याडग्यास्करजस्ता देशहरूमा सक्रिय छ।
वाग्नरका लडाकुहरूमाथि लिबिया, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, माली र युक्रेनमा अत्याचार गरेको आरोप लाग्ने गरेको छ र ती व्यवहारहरू धेरैजसो निरस्त्र नागरिकहरूका विरुद्ध छन्।
यदि वाग्नर समूह र रुसी सरकारकारबीच असमझदारी उत्पन्न हुने र यो समूह भङ्ग हुने हो भने रुसी रक्षा मन्त्रालयले यसका अफ्रिकी एकाइहरूलाई सामान पठाउन छाड्ने वाग्नर समूहलाई नजिकबाट नियालिरहेका एक राष्ट्रसङ्घीय स्रोतले बीबीसीलाई बताएका छन्।
उक्त स्रोतका अनुसार त्यसपछि सेन्ट्रल अफ्रिकन रिपब्लिक, लिबिया, सुडान र मालीलगायत देशहरूमा रहेका लडाकुहरूले तलब नपाउन सक्छन् । उनीहरूलाई राजनीतिक तथा सैन्य सहयोग पनि नहुन सक्छ। अर्थात् हाल अफ्रिकामा खटाइएका वाग्नर लडाकुहरू बेरोजगार भई नयाँ भर्तीका लागि उपलब्ध हुन सक्छन्। अस्थिरता, गृहयुद्ध र विद्रोहसँग जुधिरहेका देशहरूका लागि यो ठूलो खतरा हुन सक्छ।
राजनीतिक शक्त सङ्घर्षका कारण प्रायः सधैँ सर्वसाधारणहरू पीडित हुने गरेका छन्। हाल वाग्नर समूह सक्रिय रहेका देशका सर्वसाधारणहरूले हालको अनिश्चितताले कुख्यात वाग्नर समूहको अनियन्त्रित क्रूरतामा वृद्धि नहोस् भन्ने चाहेका छन्। त्यसो भए वाग्नरले अफ्रिका र सिरियामा के गरिरहेको छ? यस समूह भङ्ग भए वा रुसी रक्षा मन्त्रालयबाट सहायता पाउन छाडे लडाकुहरूको भविष्य के हुन्छ?
लिबियामा पहिलो पटक सन् २०१९ को अन्त्यतिर वाग्नरका फौज देखा परेका थिए। त्यति खेर उनीहरू पूर्वी लिबियामा रहेका विद्रोही जेनरल खलिफा हाफ्तरका फौजमा संलग्न थिए। ती फौजहरू राजधानी त्रिपोलीमा रहेको संयुक्त राष्ट्रसङ्घको साथ पाएको सरकारविरुद्ध लडिरहेका थिए। हाफ्तरको हमला रोकिएपछि उनीहरूलाई राजधानीको सुरक्षा घेरा तोड्ने एक दक्ष लडाकु फौजका रूपमा प्रयोग गरिएको थियो।
अग्र मोर्चामा रहेर लड्ने, लुकेर परैबाट गोली प्रहार गर्ने र सैन्य जासुसी सूचना जुटाउन सक्ने उनीहरूको विशेषज्ञताले युद्ध स्तरमा असर पारेको थियो। र तिनकै सहायताले गर्दा हाफ्तरको फौजले त्रिपोलीका केही दक्षिणी भेगमा नियन्त्रण कायम गर्न सकेको थियो।तर उनीहरूका संलग्नताका अँध्यारा पाटाहरू समेत छन्।
बीबीसीको एक अनुसन्धानले पत्ता लगाएको एक प्रमाणअनुसार यस समूहका सदस्यहरू लिबियाको राजधानी त्रिपोलीमा सर्वसाधारणको हत्या, लडाकुलाई लक्ष्यित गरी राखिने विस्फोटक पदार्थ वा एन्टि–पर्सनल माइनको अवैध प्रयोग र सर्वसाधारणको घरमा विस्फोटक पदार्थ राख्ने काममा संलग्न देखिएका छन्।
उक्त खोजले उनीहरूलाई कसरी हतियार र उपकरणहरूको आपूर्ति गरिन्थ्यो भन्ने पनि उजागर गरेको छ। त्रिपोलीमा बीबीसीले हेर्न पाएका गोप्य आन्तरिक दस्ताबेजहरूले उनीहरूले आपूर्ति जारी राख्ने वस्तुको सूची देखाउँछ।
हामीले उक्त सूची एकजना ब्रिटिश सैन्य विज्ञ क्रिस कब स्मिथलाई देखायौँ। संयुक्त राष्ट्रसङ्घसँग काम गरेका उनले भने, “अधिकांश अवस्थामा हतियारहरू ’अत्याधुनिक’ छन्—अर्थात्, आधुनिक, प्राविधिक रूपमा उन्नत, र हाल रुसी सेनाले प्रयोग गरिरहेका उपकरणहरू।
यसले पर्याप्त बजेटमा पहुँच दिने मात्र होइन, गोप्य नभए तापनि पछिल्लो संवेदनशील प्रविधिका लागि अख्तियारी दिन्छ। वाग्नर रुसी सेनाको अनौपचारिक तत्त्वभन्दा अलि बढी भएको देखिन्छ।’
व्यापक रूपमा आएका विवरणहरूका अनुसार लिबियामा रहेका वाग्नरका एकाइले आफ्ना सामग्रीहरू रुसी वायुसेवाको एन्टानोभ विमानमार्फत पाउँथ्यो। यो विमान सिरियामा रहेको रुसनियन्त्रित लताकिया आधारदेखि लिबियाको पूर्वमा रहेको हवाई आधारबीचमा नियमित उडान गर्थ्यो।
त्यसैले स्पष्ट रूपमा लिबियामा रहेका वाग्नरका एकाइहरू उच्च रूपमा रुसी रक्षा मन्त्रालयको सहायतामा भर परेको देखिन्छ। त्यसैले उक्त सहायता गुमाउनु भनेको लिबियामा उनीहरूको उपस्थिति र बलमा असर पर्नु हो।
लिबियामा रहेका स्थानीय स्रोतहरूले बीबीसीलाई बताएअनुसार रुसमा शनिवारको असफल सत्ता कब्जापछि वाग्नर एकाइहरू रहेका ठाउँमा देखिने गरी भिन्नता महसुस गरिएको छैन। रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले माली र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सैन्य प्रशिक्षकहरूका क्रियाकलापहरू छोटो समय चलेको विद्रोहपछि पनि जारी रहने आश्वासन दिएका छन्।
त्यसले अफ्रिकामा क्रेम्लिनको विस्तारवादी महत्त्वाकाङ्क्षामा ती दुई देशहरूको रणनीतिक महत्त्वलाई झल्काउँछ। त्यसैले तत्कालका लागि प्रिगोजिनको विद्रोहले सन् २०२१ को अन्त्ययता मालीमा त्यहाँको सैन्य जुन्ताको आमन्त्रणमा काम गरिरहेका १,००० भाडाका सैनिकलाई न्यून प्रभाव पर्न सक्छ। अन्तरिम राष्ट्रपति कर्नेल असिमी गोइटाले अगस्ट २०२० मा शक्ति हत्याएका थिए।
त्यसयता ती देशमा बढ्दो रूपमा रुसको कूटनीतिक, सुरक्षा र आर्थिक चासोसँग जोडिएको छ।
माली अधिकारीहरूले वाग्नर समूहसँग काम गरिरहेको कुरालाई बारम्बार अस्वीकार गरेका छन्, तर रुसी सैन्य प्रशिक्षकहरूको समर्थनको कुरा गरेका छन्। तैपनि वाग्नरको उपस्थितिले इस्लामिक स्टेट एवं अल–कायदा समूहका लडाकुहरू विरुद्धको लडाइँमा २०१३ देखि माली सेनालाई समर्थन गर्दै आएका हजारौँ फ्रान्सेली र युरोपेली सेनाहरूको बहिर्गमनलाई छिटो बनायो।
त्यसले सुरक्षा स्थिति भने खासै सुधार गर्न सकेन। सशस्त्र द्वन्द्व भएका स्थान र इभेन्ट डेटा प्रोजेक्ट (एकलेड इन्फो)को तथ्याङ्कले सन् २०२१ र सन् २०२२ बीचमा लडाकु हिंसा दोब्बर भएको देखिन्छ, जसमा उच्च सङ्ख्यामा सर्वसाधारणहरू हताहत भएका छन्।
वाग्नर समूह संलग्न सेनाको कारबाहीले उच्च सङ्ख्यामा नागरिकको मृत्यु भयो। मध्य सहर मोउरामा एक साता लामो कारबाहीमा झण्डै ५०० सर्वसाधारणको हत्या भएको घटना त्यहाँको सबैभन्दा खराबमध्येमा पर्छ। संयुक्त राष्ट्रसङ्घले ती हत्यालाई ‘विदेशी सेना’ र माली सेनासँग जोडेको छ र अमेरिकाले मालीका दुई जना सैनिक र वाग्नर समूहका ’डिफ्याक्टो’ कमाण्डरलाई प्रतिबन्ध लगाएको छ।
युक्रेनको युद्धले मालीमा वाग्नरको गतिविधिलाई कम गर्न खासै काम गरेन। भाडाका सैनिकहरू तत्कालै उत्तरी सहरहरू गोसी, मेन्का र गाओमा पहिले फ्रान्सेली सेनाले काम गरेका ठाउँहरूमा गए। प्रायः वाग्नर र रुसी गतिविधिहरूको पक्षमा अभियान चलाइरहेका जुन्ता समर्थक नागरिक समूहहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले वाग्नरले राष्ट्रसङ्घीय शान्ति सेनालाई विस्थापन गर्नुपर्ने मागसहित अभियान चलाएका छन्।
रुसी सहायतामा मालीको बढ्दो निर्भरता १६ जुनमा स्पष्टसँग देखियो जतिखेर त्यहाँका विदेशमन्त्रीले त्यहाँबाट राष्ट्रसङ्घीय निकायलाई तत्कान फिर्ता हुन आह्वान गरे। सन् २०२० को सेन्ट्रल अफ्रिकन रिपब्लिकका अभियानमा वाग्नर लडाकुहरू बढ्दो रूपमा खुला देखिएका थिए । जिहादी समूहहरूले क्रेम्लिन र वाग्नर समूहबीचको तनावका कारण मालीमा सम्भावित सुरक्षा समस्याको फाइदा उठाउन सक्छन्।
त्यसै गरी, मध्य अफ्रिकी गणतन्त्रबाट प्रिगोजिनको विद्रोहका बारेमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यद्यपि त्यहाँ सन् २०१७ यता वाग्नर समूहले धेरै गतिविधिहरू गरिरहेको छ।
मस्को र बान्गुईबीचको सुरक्षा सहकार्य सम्झौतापछि सयौँ रुसी ‘सैन्य प्रशिक्षकहरू’ दशकौँदेखि उक्त देशलाई सङ्कटमा पारेका विद्रोहीहरूविरुद्ध लड्न खटिएका थिए। समय क्रममा, वाग्नर समूह आर्थिक क्रियाकलापहरूमा समेत संलग्न भयो। बताइएअनुसार लडाकुहरू विवादित खनिज र काठका साथै भोड्काको व्यापारमा संलग्न भए।
एक शक्तिशाली विद्रोही गठबन्धन – द कोलिशन अफ प्याट्रिअट्स फर चेन्ज– विरुद्ध उनीहरूको सफलताले सन् २०२० मा सार्वजनिक समर्थन जुटायो। त्यस समूहले राष्ट्रपति फस्टिन टुडेराविरुद्ध विद्रोहको नेतृत्व गरेको थियो। उनको सरकार अङ्गरक्षकहरूका लागि वाग्नर समूहमा अत्यधिक निर्भर थियो। प्रमुख सरकारी निकायहरूको सुरक्षामा पाएको भूमिकाले विद्रोहीहरूविरुद्धको कारबाहीका क्रममा सर्वसाधारणविरुद्ध व्यापक अत्याचार गर्न भाडाका सैनिकहरूलाई प्रोत्साहित गरेको थियो।
यस वर्षको सुरुमा अमेरिकी अर्थ मन्त्रालयले ती भाडाका सैनिकहरूलाई “सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा सामूहिक हत्या, बलात्कार, बाल अपहरण र शारीरिक दुर्व्यवहार“जस्ता गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको आरोप लगाएको थियो। प्रिगोजिनको विद्रोहले गर्दा वाग्नर समूहमा आएको फुटका कारण सेन्ट्रल अफ्रिकन रिपब्लिकमा भएको भाडाका सेनाको आकर्षक र धेरै हदसम्म स्वायत्त कारबाहीको नियन्त्रण गुम्ने जोखिम देखापर्यो।
खास गरी प्रशस्त खनिज भएको भित्री भूभागमा विद्रोही र भाडाका सैनिकहरूबीचको सहकार्य हुन सक्ने अर्को जोखिम देखा परेको छ। त्यसले वाग्नरका गतिविधहरूका कारण पहिल्यैदेखि जोखिममा रहेका चाड र सुडानजस्ता छिमेकी देशहरूलाई थप अस्थिर बनाउने जोखिम हुन्छ। यद्यपि, ट्वडेराको सरकार र मस्कोबीचको निरन्तरको सहकार्यले क्रेम्लिन र वाग्नर समूहबीचको तनावले सुरक्षा सञ्चालन र कमजोर अवस्थामा रहेको स्थिरतालाई असर गर्न सक्ने चिन्ता केही कम भएको देखिन्छ।
सिरियामा वाग्नरको उपस्थिति कथा भने पूरै भिन्न छ। सिरियाली सरकारी सेनालाई सहयोग गर्न रुसी सेनालाई सन् २०१५ मा औपचारिक रूपमा बोलाइएको थियो। त्यस बेला सिरियाली विद्रोहीले देशको धेरैजसो भूभाग आफ्नो नियन्त्रणमा लिएका थिए। रुसी हस्तक्षेपले सिरियाली राष्ट्रपति बसर अल–असदको सेनामा धेरै प्रभाव पार्यो। रुसी सेनाले अहिले देशको धेरै भागमा नियन्त्रण कायम गरेको छ।
तर उक्त अवस्था ठूलो मानवीय मूल्यमा आयो। सन् २०१५ यता हजारौँ सिरियालीहरूको मृत्युको लागि रुसी लडाकु विमानहरू जिम्मेवार रहेको आरोप लगाइने गरेको छ। सिरियाली भूमध्यसागरीय तटमा रहेको लटाकिया हवाई अड्डा आधिकारिक रूपमा रुसी रक्षा मन्त्रालयको नियन्त्रणमा छ, र यसाई प्रायः अफ्रिकामा वाग्नर एकाइहरूलाई सामग्री आपूर्तिका लागि प्रयोग गरिन्छ।
सन् २०१५ यता वाग्नर एकाइहरू सिरियामा छन्। उनीहरू प्रायः आईएसआईएस लडाकुहरू सक्रिय रहेको तेल क्षेत्रहरू वरपर तैनाथ गरिएका छन्। सिरियामा तैनाथ भएको झन्डै दुई वर्षपछि वाग्नर लडाकुहरूलाई भयानक युद्ध अपराध गरेको आरोप लगाइएको छ। सन् २०१७ मा कैयौँ वाग्नर सिपाहीहरूले एक सिरियाली नागरिकलाई क्रूर ढङ्गले यातना दिँदै हत्या गरेको भिडिओ इन्टरनेटमा सार्वजनिक गरिएको थियो।
उक्त भिडिओलाई पछि त्यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्न प्रयोग गरिएको थियो। मस्कोमा पीडितका एक जना आफन्तले छजना वाग्नर लडाकुहरूविरुद्ध अपराधसम्बन्धी उजुरी दर्ता गराएका थिए। यद्यपि तिनीहरूमध्ये रुसी अधिकारीहरूले कसैलाई पनि कारबाही गरेनन्। यीमध्ये एकलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मेडल अफ अनर’ले पुरस्कृत गरेका थिए।
सिरियामा रहेको रुसी उपस्थिति आधिकारिक सरकारी उपस्थिति हो। त्यसैले रुसमा वाग्नर र क्रेम्लिनबीच के भइरहेको छ भन्ने कुराले सिरियामा रुसको जारी कारबाही वा दमास्कस सरकारका लागि उनीहरूको समर्थनमा कुनै प्रभाव पार्ने सम्भावना छैन। यद्यपि, रुसी रक्षा मन्त्रालयले सिरियामा वाग्नरका लडाकुहरूलाई अस्वीकार गरेमा के हुन्छ भन्ने कुरा विश्वभरका धेरैले नजिकबाट हेरिरहेका छन् किनकि सिरियाली गृहयुद्धमा दुवै पक्षमा विश्वका शक्तिशाली राष्ट्रहरू संलग्न छन्।
बेभर्ली ओचीङ र नादिर इब्राहिम
बीबीसी मोनिटरिङ/बीबीसी विश्व सेवा

प्रतिक्रिया