वाग्नर प्रमुख येभ्गेनी भन्छन् -आफ्नो कदम पुटिन लक्षित थिएन


रुसमा सप्ताहान्तमा विद्रोहको अगुवाइ गरेका वाग्नर समूहका संस्थापक येभ्गेनी प्रिगोजिनले विद्रोहपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनले आफ्ना समूहका सदस्यले, न्यायका निम्ति मार्च गरेको बताए। ‘हामीले आक्रामकता प्रदर्शन गरेका थिएनौँ,’ उनले भने, ‘तर हामीमाथि क्षेप्यास्त्र र हेलिकप्टरबाट प्रहार भयो।’ रुसी सेनाको रगत बग्न नदिन आफ्ना समर्थक फिर्ता भएको उनले बताए। उनले आफ्ना कदम पुटिनविरुद्ध लक्षित नभएको पनि बताएका छन्।

‘रुसी नेतृत्व अपदस्थ गर्न हामी अघि बढेका थिएनौँ।’ आफ्नो ११ मिनेटको श्रव्य सन्देशमा उनले भनेका छन्, ‘मार्चको उद्देश्य वाग्नरहरूको विनाश रोक्नु र आफ्ना अव्यावसायिक कदमहरूमार्फत कैयन त्रुटि गरेका अधिकारीहरूलाई जवाफदेही बनाउनु थियो।’

उनले वाग्नरको नेतृत्वमा सुरुवाती आक्रमणहरू भएको भए युक्रेन युद्ध अहिलेभन्दा छिटो समाप्त हुने दाबी समेत गरेका छन् । रुसमा सप्ताहान्तमा भएका नाटकीय घटनाक्रम पश्चात् राष्ट्रपति पुटिन तथा उनको सरकारले स्थिति सामान्य बनेको सङ्केत दिइरहेका छन् । शनिबार वाग्नर फौजको विद्रोह साम्य पारिएको थियो ।

सोमबारै क्रेम्लिनले पुटिनले एक युवा औद्योगिक मञ्चलाई सम्बोधन गरेको भिडियो सार्वजनिक गरेको छ। भिडियो कहिले खिचिएको भन्ने प्रस्ट छैन । त्यस्तै रुसी अधिकारीहरूले रक्षा मन्त्री सेर्गेइ शोइगुले युक्रेन युद्धकै सिलसिलामा एउटा अग्र सैन्य मोर्चामा भ्रमण गरेको भिडियो सार्वजनिक गरेका छन् । त्यो पनि कहिले खिचिएको भन्ने चाहिँ प्रस्ट छैन। वाग्नरले सोइगुको बर्खास्तीको माग गरेको थियो।

विद्रोहले पुर्याएको क्षतिलाई हटाएर राष्ट्रपति पुटिनको स्थिर र शक्तिशाली नेताको छवि पुनर्स्थापित गर्ने कार्य अहिले बेतोडले भइरहेको बताइएको छ । यसैबीच प्रधानमन्त्री मिखाइल मिसुस्टिनले राष्ट्रपतिको पछाडि सबै जना एकताबद्ध हुन आह्वान गरेका छन् । रुसका सरकारी सञ्चारमाध्यमहरूमा वाग्नर समूहको विद्रोहका नाइके येभ्गेनी प्रिगोजिनमाथि त्यहाँको सङ्घीय सुरक्षा सेवा एफएसबीले अनुसन्धान गरिरहेको विवरण आएका छन् ।

शनिबार साँझ प्रिगोजिनविरुद्ध सबै अभियोग फिर्ता लिइएको भनिए पनि सञ्चार माध्यमहरूमा महाअभियोजनकर्ताको कार्यालयको हवाला दिँदै उनी विरुद्ध फौजदारी मुद्दा चलाउने निर्णय रद्द नभइसकेको विवरण आएका छन्। यसअघि विद्रोह साम्य पार्दै प्रिगोजिनलाई बेलारुस जान भनिएको थियो ।

वाग्नर समूहको भविष्यबारे विभिन्न अनुमान चलिरहँदा रुसको सरकारी समाचार संस्था तासले वाग्नरमा जारी भर्ती प्रक्रिया फेरि चालू भएको उल्लेख गरेको छ। रुसका परराष्ट्र मन्त्री सेर्गेइ लाभ्रोभले पनि अफ्रिकामा प्रशिक्षकको रूपमा कार्यरत वाग्नरले निरन्तरता पाउने बताएका छन्। लाभ्रोभले माली तथा सेन्ट्रल अफ्रिकन रिपब्लिकहरूमा वाग्नरका क्रियाकलाप जारी रहने बताएका छन् ।

यसैबीच उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले सप्ताहान्तमा रुसमा भएका घटनाले क्राइमिया गाभ्ने अनि युक्रेनमा अतिक्रमण गर्ने राष्ट्रपति पुटिनका कदम ठूला रणनीतिक भूल थिए भन्ने देखाएको बताएका छन् ।

वाग्नर समूहको विद्रोहलाई रुसको आन्तरिक मामिला भन्दै उनले घटनाक्रमलाई नेटोले नियालिरहेको बताए। युरोपेली युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनविरुद्धको युद्धका कारण रुसभित्रै शक्ति खलबलिएको तथा राजनीतिक प्रणाली प्रभावित भएको बताए। एउटा परमाणु शक्ति राष्ट्र त्यस्तो अस्थिरतामा प्रवेश गर्नु ठिक नभएको उनले बताएका छन्।