अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच सम्बन्ध सुधारका विषयमा विस्तृत कुराकानी


अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले आफ्ना चिनियाँ समकक्षीसँग खुलस्त कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । चीनका अधिकारीहरूसँगको दुई दिने बैठकको आरम्भमा उनले चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन् । ब्लिङ्कनले कूटनीति र संवादका ढोकाहरू खुला राख्नुपर्ने आवश्यकतामा जोड दिएको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

करिब पाँच वर्षयता कुनै पनि शीर्ष अमेरिकी कूटनीतिज्ञले चीन भ्रमण गरेको यो पहिलो पटक हो । अमेरिकी आकासमा एक सन्दिग्ध चिनियाँ जासुसी बलुनको उडानपछि करिब पाँच महिनाअघि ब्लिङ्कनको भ्रमण स्थगित गरिएको थियो । अमेरिकी अधिकारीहरूले वार्ताको मुख्य लक्ष्य अत्यन्तै तनावपूर्ण भएको सम्बन्धलाई स्थिर बनाउनु रहेको बताएका छन् ।

चीनका विदेशमन्त्री किन गांगले ब्लिङ्कनलाई बेइजिङ अमेरिकासँग स्थिर र रचनात्मक सम्बन्ध स्थापित गर्न प्रतिबद्ध रहेको बताएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी अधिकारीहरूले चाहिँ वार्तामा उनी वाशिङ्टन भ्रमणका लागि सहमत भएको बताएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार किनले चीन–अमेरिका सम्बन्धका लागि ताइवान मामिला सबैभन्दा प्रमुख जोखिम भएको बताए र ताइवान मुद्दालाई चीनको मुख्य चासोका रूपमा वर्णन गरे । चीनले स्वशासित ताइवानलाई उसैको टुक्रिएको प्रान्तको रूपमा हेर्छ र अन्ततः त्यो बेइजिङको नियन्त्रणमा हुनेछ भन्ने ठान्छ।

तर ताइवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा फरक ठान्छ । अमेरिकी राष्ट्रपति जो बाइडनले गतवर्ष चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए। त्यसलाई बेइजिङले निन्दा गरेको थियो । चिनियाँ विदेशमन्त्रीले आइतबार बिहान ब्लिङ्कनलाई विशेषगरी विदेशी पाहुनाहरूलाई स्वागत गरिने भव्य स्टेट गेस्ट हाउसमा स्वागत गरेका थिए ।

त्यसपछि दुवैले आ–आफ्नो झण्डाको अगाडि उभिएर हात मिलाए अनि त्यसपछि बैठक सुरु गर्न लामो टेबलमा उनीहरूका प्रतिनिधिमण्डलसँग बसे । हालैका वर्षहरूमा दुई महाशक्तिबीच विकसित भएको चिसो सम्बन्धलाई दर्शाउनेगरी भेटघाट नितान्त रूपमा औपचारिक जस्तो मात्र देखिन्थ्यो ।

अमेरिकाले यो यात्राबाट प्राप्त हुनसक्ने उपलब्धिका अपेक्षाहरूलाई घटाउँदै लगेको छ र दुवै पक्षले कुनै ठूलो सफलताको आशा नगरेको स्पष्ट पारेका छन् । युक्रेनमा जारी युद्ध, उन्नत कम्प्युटर प्रविधिलाई लिएर उत्पन्न व्यापार विवाद, चिनियाँ मानवअधिकार आचरणलगायतका विषयमा अमेरिकीहरूले छलफल गर्ने अपेक्षा गरिएका छन् ।

चिनियाँ अधिकारीहरूले ब्लिङ्कनको भ्रमणप्रति सामान्य प्रतिक्रिया व्यक्त गरेका छन् र अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासमा इमानदार छ कि छैन भनेर प्रश्न उठाएका छन् ।