ओडिशा रेल दुर्घटनामा २८८ को मृत्यु


पूर्वी भारतमा भएको घातक रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य पूरा भएको छ । ओडिशा राज्यमा शुक्रवार भएको दुर्घटनामा कम्तीमा २८८ जनाको मृत्यु भएको छ भने ८०० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूका अनुसार दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई पीडादायी भनेका छन्। उनले शनिबार घटनास्थलको भ्रमण गरेका थिए । उनले घटनामा दोषी पाइएका मानिसहरूलाई “कडा सजाय“ दिइने बताएका छन् ।

उनले अस्पतालमा उपचाररत घाइतेहरूलाई पनि भेटेर सरकारले उनीहरूको उपचारमा कुनै कसर बाँकी नराख्ने बाचा गरेका छन् । भारतमा भएको चार दशकयताकै सबैभन्दा घातक रेल दुर्घटनाको कारण अझै स्पष्ट हुन सकिरहेको छैन । ओडिशाको बालासोर जिल्लामा भएको उक्त दुर्घटनामा एकै पटक धेरै वटा रेलहरू जुध्ने अवस्था बनेको थियो ।

दुर्घटनाको कारण पत्ता लगाउन पूर्ण खालको अनुसन्धान सुरु गरिएको छ । दक्षिण पूर्वी रेलवेका प्रमुख जनसम्पर्क अधिकृत केएस आनन्दका अनुसार प्रारम्भिक विवरणहरूले ‘सिग्नल फेल’ भएर दुर्घटना भएको सङ्केत गरेको छ । दुर्घटनाका क्रममा आपसमा ठोकिएका दुई वटा यात्रुवाहक रेलमा करिब दुई हजार यात्रुहरू रहेको अनुमान गरिएको छ ।

अधिकारीहरूका अनुसार कोलकाताबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसले शुक्रबार साँझ ७ बजेतिर रोकिएको मालवाहक रेललाई ठक्कर दिएपछि उसका डिब्बाहरू पटरीबाट खसेको बताएका छन् ।

तर उक्त रेल कसरी मालवाहक रेलको लिकमा प्रवेश गर्यो भन्ने अस्पष्ट छ । त्यसपछि कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू विपरीततर्फको लिकमा पुगेका थिए । ती डिब्बाहरू यशवन्तपुरबाट हावडा जाँदै गरेको विपरीत दिशामामा रहेको अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेससँग ठोकिन पुगे।