दक्षिण कोरियामा अवतरण गर्ने क्रममा रहेको एशियाना एयरलाइन्सको एउटा विमानको आपत्कालीन ढोका खोलेको आरोपमा एक यात्रु पक्राउ परेका छन् ।
डेगू अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार सुरक्षित रूपमा अवतरण गरेको उक्त विमानमा यात्रा गरिरहेका १९४ जना यात्रुहरू सकुशल छन्। तर विमान अवतरण गर्दा त्यसको आपतकालीन ढोका भने खुलै थियो । विमानमा भएका केही यात्रु बेहोस भएका थिए भने कतिपयलाई सास फेर्न समस्या भएको थियो उनीहरूलाई अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यन्हाप समाचारसंस्थाले जनाएअनुसार आकस्मिक ढोका खोल्ने ३० वर्षका ती व्यक्तिलाई जहाज अवतरण भएपछि पक्राउ गरिएको छ । उडान नम्बर ओजेड–८१२४ रहेको एअरबसको ए–३२१–२०० जहाज स्थानीय समयानुसार शुक्रबार बिहान ११ः४५ बजे जेजू टापुबाट उडेको थियो ।
करिब एक घण्टापछि अवतरण गर्ने क्रममा एक पुरुष यात्रुले जमिनबाट २५० मिटर माथि हुँदा विमानको आपतकालीन ढोका खोलिदिएका थिए । आपत्कालीन ढोका खुलै रहेकै अवस्थामा जहाज अवतरण भएको थियो ।
एक यात्रुले सामाजिक सञ्जालमा राखेको भिडियोमा विमानको बायाँतर्फको चेपबाट सीटमा बसेका यात्रुहरूको पङ्क्तिमा हावा चलिरहेको देखिन्छ । विमान अवतरण गर्न लागेकाले विमानका कर्मचारीले उनलाई रोक्न नसकेको प्रत्यक्षदर्शीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उनीहरूका अनुसार ती व्यक्तिले ढोका खोलेर विमानबाट हाम फाल्ने प्रयास गरेका थिए।

प्रतिक्रिया