भारतको रिजर्भ ब्याङ्कले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । शुक्रबार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म ब्याङ्कहरूमा जम्मा गर्न सकिने जनाएको छ ।
सर्वसाधारणले आफ्नो ब्याङ्क खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै ब्याङ्क शाखामा गएर नोट साट्न सक्ने विज्ञप्तिमा उल्लेख छ । यद्यपि ब्याङ्क खातामा जम्मा गर्नका लागि कुनै सीमा तोकिएको छैन र त्यसमा विद्यमान कानूनहरू मात्र लागु हुनेछन् ।
आरबीआईले यसअघि पाँच सय र एक हजार दरका नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न दुई हजारका नोट जारी गरिएको बताएको छ । आरबीआईका अनुसार साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८–१९ मा दुई हजारका नोट छाप्न रोकिएको थियो ।
सन् २०१६ को नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १,००० रुपैयाँका नोट बन्द गर्ने घोषणा गरेका थिए । त्यसपछि भारत सरकारले दुई हजारको नयाँ नोट ल्याएको थियो।
यद्यपि विगतका वर्षहरूमा ५०० को नोट निकै चलेको थियो । सन् २०२१ मा तत्कालीन वित्त राज्यमन्त्री अनुराग ठाकुरले बताए अनुसार आरबीआईले सन् २०१९ र २०२० को अवधिमा दुई हजारको नयाँ नोट छापेको थिएन।

प्रतिक्रिया