राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलको कारलाई पापाराजीहरू संलग्न एउटा घटनामा ‘खतरनाक’ ढङ्गले पछयाएको उनीहरूका प्रवक्ताले बताएका छन् । ड्यूक र डचिस अफ ससिक्सले न्यू योर्कमा मङ्गलबार एउटा पुरस्कार वितरण समारोहमा भाग लिएपछि यो घटना भएको थियो ।
एउटा विज्ञप्तिमा उनीहरूका प्रवक्ताले निरन्तर दुई घण्टा भन्दा बढी समयसम्म कारलाई पछयाइएको र त्यसका कारण दुर्घटना हुने अवस्था झण्डै निम्तिएको जनाएका छन् । न्यूयोर्क प्रहरीका प्रवक्ताले कसैलाई पनि पक्राउ नगरिएको र कोही पनि घाइते नभएको जनाएका छन्। न्यूयोर्क प्रहरीले ह्यारी र मेगनसँग सम्बन्धित घटना भएको र कैयौँ फोटोग्राफरहरूले उनीहरूको सवारीलाई चुनौतीपूर्ण बनाएको बताएको छ ।
मनोरञ्जनसम्बन्धी फोटो एजेन्सी ब्याकग्रीडले कैयौँ स्वतन्त्र पत्रकारहरूमाथि अनुसन्धान गरिरहेको जनाउँदै घटनाबारे उनीहरूले प्राप्त गरेका प्रारम्भिक विवरण फरक रहेको जनाएको छ । यसअघि आधा दर्जन कारहरूले पछयाउदा लापरबाहीपूर्ण ढङ्गले गाडी चलाइएको दाबी गरिएको थियो । रातो बत्ती बलेको समयमा कार गुडाइएको, सडक पेटीबाट पनि कार कुदाइएको, बाटोमा अवरोध पुर्याउन खोजेको, एकतर्फी बाटोमा गैरकानुनी ढङ्गले सवारी चलाएको र गाडी चलाउँदा तस्बिर खिचिएको दाबी गरिएको थियो ।
उक्त जोडी र मेगनकी आमा डोरियाले पापाराजीहरूबाट जोगिन म्यानह्याटनको प्रहरी स्टेसनमा आश्रय लिने प्रयास गरेको पनि जनाइएको छ । त्यसपछि उनीहरूले न्यूयोर्कको ट्याक्सी प्रयोग गर्ने योजना बनाए। उक्त ट्याक्सी र त्यहाँभित्र ह्यारी, मेगन, डोरिया र सुरक्षाअधिकारी बसेको फोटोग्राफरहरूले देखेपछि उनीहरू आफ्नै सवारी साधनमा फर्किएका थिए । उनीहरू मिस फाउन्डेशन वीमिन अफ भिजन अवार्डस् नामक एउटा पुरस्कार वितरण समारोहमा भाग लिएर फर्किदा यो घटना भएको हो ।
राजा चार्ल्सको राज्याभिषेकपछि उक्त जोडी पहिलो पटक संयुक्त रूपमा कुनै सार्वजनिक कार्यक्रममा उपस्थित भएको थियो । न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले यस्तो घटनामा दुई जना प्रहरी घाइते हुनसक्ने वा कुनै निर्दोष प्रत्यक्षदर्शी गुमाउनु पीडादायी हुने टिप्पणी गरे । राजकुमार ह्यारी र मेगनको विज्ञप्तिले तीव्र गतिमा कारलाई पछयाएको कहिल्यै पनि उल्लेख गरेको छैन। उसले निरन्तर दुई घण्टा पछ्याइएको चर्चा गरेको छ।

प्रतिक्रिया