पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशव्यापी ‘स्वतन्त्रता’ प्रदर्शनका लागि आह्वान गरेका छन् । यसै साता आफ्नो संक्षिप्त गिरफ्तारी र हिरासतले देशव्यापी अशान्ति भएपछि अदालतको आदेशमा उनलाई रिहा गरिएको थियो ।
गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका क्रिकेट सुपरस्टारको पक्राउलाई सर्वोच्च अदालतले ‘गैरकानुनी’ ठहर गरेपछि उनलाई शुक्रबार जमानतमा रिहा गरिएको थियो । गिरफ्तारीबाट आक्रोशित समर्थकहरूले सरकारी भवनहरूमा आगजनी गरेका थिए भने सडकहरू अवरुद्ध गरेका थिए ।
उनीहरूले सेनाको सम्पत्तिमा क्षतिसमेत पुर्याएका थिए । ‘स्वतन्त्रता सजिलै आउँदैन । हामीले त्यसलाई खोस्नु पर्छ । यसका लागि सबैले त्याग गर्नुपर्छ,’ युट्युबमा प्रसारण गरिएको सम्बोधनमा उनले भने ।
उनले समर्थकहरूलाई आइतबार साँझ स्थानीय समयानुसार ५ बजे एक घण्टाका लागि देशभरका ‘आफ्ना सडक र गाउँहरूको चोकमा’ विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।
पाकिस्तानमा पाँच दिनसम्म चलेको कोलाहलपछि आइतबार बिहान शान्त रहेको थियो । खानले तत्काल चुनावका लागि बुधबार नै चुनावी अभियानमा फर्कने प्रतिबद्धता जनाएका थिए । महिनौंदेखि पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका नेताले सेनाविरुद्ध अवज्ञाको अभियान चलाइरहेका छन् ।
गत वर्ष आफूविरुद्ध भएको हत्याप्रयासमा वरिष्ठ अधिकारीको संलग्नता रहेको बताएको केही घण्टापछि गत मङ्गलबार उहनलाई पक्राउ गरिएको हो । पाकिस्तानको शक्तिशाली सेनाले आफ्नो ७५ वर्षको इतिहासको लगभग आधा भाग देशमाथि प्रत्यक्ष रूपमा शासन गरेको छ र राजनीतिक प्रणालीमाथि शक्ति प्रयोग गरिरहेको छ ।
यस हप्ता भएको हिंसामा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रहरी र अस्पतालले जनाएका छन् । पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तमा सयौं प्रहरी अधिकारी घाइते हुनुका साथै चार हजारभन्दा बढीलाई हिरासतमा लिइएको अधिकारीहरुले बताएका छन् । खानका एक वकिलका अनुसार प्रदर्शन सुरु भएयता पीटीआईका कम्तीमा १० जना वरिष्ठ नेतालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया