काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चीनबाट फर्काइने नेपालीलाई घनाबस्तीभन्दा बाहिर राख्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद सुवालले भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम भवनमा चीनबाट फर्काइने नेपालीलाई राख्न लागिएकोमा विरोध जनाएका हुन् ।
उनले भने, ‘कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको छ, त्यस्तो स्थल घना बस्तीभन्दा टाढा राख्न म सरकारको ध्यानाकर्षण गराउँछु ।’
उनले खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम भवनमा मंगलबार प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिवले निरीक्षण गरेकोप्रति जनताको विरोध रहेको उल्लेख गरे ।
यता, सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । उनले यस विषयले संसद्मा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेको समेत बताइन् ।

प्रतिक्रिया