युक्रेनको शान्ति प्रक्रियामा चीनको प्रमुख भूमिका रहेको म्याक्रोँको भनाई


फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले युक्रेनको तीनदिने भ्रमणका क्रममा युक्रेनमा शान्ति स्थापनाका लागि चीनको ‘प्रमुख भूमिका’ रहेको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताअघि बेइजिङमा आयोजित फ्रान्सेली समुदायको भेलालाई सम्बोधन गर्दै म्याक्रोँले फ्रान्सले युक्रेनमा शान्ति र स्थिरताका लागि साझा जिम्मेवारीमा चीनसँग मिलेर काम गर्न चाहेको बताए ।

युक्रेनमा आणविक हतियारको प्रयोगको बेइजिङको विरोधका साथै कीभ र मस्कोबीचको शान्तिको प्रस्तावलाई उल्लेख गर्दै उनले भने, “चीनले रूससँगको घनिष्ठ सम्बन्धलाई लिएर प्रमुख भूमिका खेल्न सक्छ ।

राष्ट्रपति म्याक्रोँको चार वर्षपछिको पहिलो चीन भ्रमण युक्रेनमा जारी द्वन्द्वका कारण महत्वपूर्ण हुने अनुमान गरिएको छ । उनको कार्यालयका एक अधिकारीले सीसँगको वार्तामा दृढतापूर्वक उभिन आफू प्रयासरत रहेको बताए ।

म्याक्रोँले भने, “हामीले द्वन्द्वको सुरुदेखि नै पीडितलाई सहयोग गर्ने निर्णय गरेका छौँ र हामीले यो पनि स्पष्ट पारेका छौं कि आक्रमणकारीलाई सहयोग गर्ने जो कोही पनि अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनमा सहयोगी भएको ठहर हुनेछ ।

फ्रान्सेली नेताको भ्रमणको उद्देश्यमा युरोपसँग चीनको व्यापारिक सम्बन्धको संरक्षण र पुनः सन्तुलित गर्नुका साथै एशिया–प्रशान्तमा फ्रान्सको हितको रक्षा गर्नु पनि समावेश छ ।

“हामीले आफूलाई चीनसँग असम्लग्न हुनु हुँदैन, आफूलाई चीनबाट अलग राख्नुहुँदैन,” म्याक्रोँले बेइजिङको फ्रान्सेली समुदायसँग भने । फ्रान्स चीनसँग व्यापारिक सम्बन्ध कायम राख्न सक्रिय रूपमा प्रतिबद्ध रहनेछ ।

ह्वाइट हाउसका अनुसार म्याक्रोँले आफ्नो चीन भ्रमण र युक्रेनका लागि समर्थनबारे अमेरिकी राष्ट्रपति जो बाइडनसँग टेलिफोनमार्फत् छलफल गरेका थिए ।

म्याक्रोँको कार्यालयले भनेको छ, “यो वार्ताले युक्रेनमा युद्धको अन्त्यलाई गति दिन र स्थायी शान्ति निर्माण गर्न फ्रान्स र संयुक्त राज्य अमेरिकाको चीनसँग संलग्नताको साझा इच्छालाई देखाएको छ ।