विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नयाँ कोरोनाभाइरसविरुद्ध चीनले चालेका कदमले सङ्क्रमणलाई विश्वब्यापी सङ्कट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको छ ।
जेनेभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताएका हुन् ।
प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्लुएचओको त्यस्तो प्रशंसा आएको हो । जेनेभास्थित राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत चेन छुले भने कतिपय प्रतिबन्धहरू डब्लुएचओको सुझाव विपरीत रहेको भन्दै यस प्रकोपबारे देशहरूले उग्र प्रतिक्रिया जनाउन आवश्यक नरहेको बताएका छन् ।
महानिर्देशक टेड्रोसले चीनमा यात्रा र व्यापार प्रतिबन्धहरू नलगाउन विभिन्न देशहरूलाई आग्रह गरेका छन् । अहिलेसम्म २२ देशहरूले त्यस्तो निर्णय गरेकोमा टेड्रोसले ती ’छोटो समयका लागि र निरन्तरको समीक्षाबीच आवश्यकताका आधारमा’ हुनुपर्ने बताए ।
अहिलेसम्म यस भाइरसको सङ्क्रमणबाट ४९२ जनाको मृत्यु भइसकेको छ भने विश्वभर २४ हजारभन्दा धेरै मानिसमा यसको सङ्क्रमण फेला परेको पुष्टि भएको छ । यो नयाँ भाइरसबारे जनवरी ३० तारिखमा विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरिएको थियो ।
कोरोना भाइरसको मुख्यभूमि चीनबाहिर अहिलेसम्म हङ्कङ र फिलिपिन्समा समेत एक एक जनाले ज्यान गुमाएका छन् । अमेरिकाले आफ्ना अत्यावश्यक बाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई सबैभन्दा पहिले भाइरस देखापरेको चीनको वुहान सहरबाट फर्किन निर्देशन दिएको छ ।
ब्रिटेन र फ्रान्सले समेत आफ्ना नागरिकहरूलाई सकेसम्म चीन छाड्न भनेको छ । ताइवानले शुक्रवारबाट मुख्यभूमि चीनको पछिल्लो दुई सातामा भ्रमण गरेका विदेशीको आगमनमा रोक लगाउने बताएको छ ।
मकाउले समेत आफ्नो अर्थतन्त्रको मुख्य स्रोत क्यासिनोहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार मृत्यु हुनेमध्ये झण्डै ८० प्रतिशत ६० वर्ष भन्दा माथिका छन् भने ७५ प्रतिशतमा पहिल्यै मुटुरोग र मधुमेहजस्ता समस्या थिए ।

प्रतिक्रिया