हजारौं निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैनः कमल थापा


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । आइतबार साँझ सामाजिक संजालमार्फत भट्टराईले यसरी विदा दिएर मुलुकलाई अनावश्यक बैचारिक ध्रुवीकरणमा फसाउन नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संविधान दिवस मानिंदै आएको छ । अरु सबै यसकै अधिनस्थ हुन् । फेरि अलग अलग विदा किन ? मुलुकलाई अनावश्यक बैचारिक ध्रुवीकरणमा नफसाऔं ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनयुद्ध दिवसका नाममा सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति अपत्ति जनाएका छन् । उनले भनेका छन्,‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरु गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय आपत्तिजनक छ । हजारौ निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन । राजा र हिन्दूराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ ?’

आइतबार बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

विसं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो । यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।