फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने निर्णय अर्को बेथितिको शुरुवातः रावल


काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले फौजदारी अभियोग लागेका सांसदलाई निलम्ब नगर्ने हो भने अर्को बेथितिको सुरुवात हुने बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत रावलले त्यस्तो अभियोग लागेका व्यक्तिलाई निलम्वन नगरी संसदमा कुर्लन दिने हो भने त्यसले संसदको मर्यादा मात्र नभई, देशकै मर्यादामा आँच पुग्ने बताएका हुन् ।

उनले भनेका छन्,‘फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने भन्ने छलफल संसद नियमावली मस्यौदा समितिमा भएको र त्यसमा दलका नेताहरु मौन रहेको भन्ने समाचार साँचो हो भने यो अर्को बेथितिको शुरुवात हुनेछ । कतिपय फौजदारी अभियोग राष्ट्रिय र सामाजिक दृष्टिबाट समेत गम्भीर वा अनैतिक देखिने हुनसक्छन् । त्यस्तो अभियोग लागेका व्यक्तिलाई निलम्वन नगरी संसदमा कुर्लन दिने हो भने त्यसले संसदको मर्यादा मात्र होइन, देशकै मर्यादामा आँच पुग्छ । अतः संसद सदस्य जस्तो जिम्मेवार पदमा भएकाहरुलाई अझ नैतिकवान र जिम्मेवार बनाउने गरी कानून बनाउनु पर्नेमा भइरहेको कानूनलाई समेत हटाएर जे गर्न पनि छुट दिने उल्टो बुद्धि (कु) नआएकै राम्रो । संसदमा गैरजिम्मेवार र अनैतिकताको खेती हुनबाट रोक्नु देश, जनता र लोकतन्त्रको हितमा हुन्छ ।’

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको शुक्रबार बसेको बैठकमा दलहरुबीच फौजदारी अपराधको मुद्दाको अन्तिम किनारा नलागेसम्म आरोपित सांसदको पद कायम नै रहने सहमति भएको छ ।

बैठकले फौजदारी अभियोग पत्र दायर भएदेखि अदालतले दोषी प्रमाणित नगरेसम्म आरोपित सांसदको पद कायम नै राख्ने सम्बन्धमा सहमति जुटाएको हो । तर सम्पूर्ण कानूनी प्रक्रियाका क्रममा आरोपित सांसदको सेवा सुविधा भने स्थगित गर्नेमा समिति सदस्यहरुले सहमति गरेका छन् ।