झापा । कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव शनिबार झापास्थित निवासमा ल्याइएको छ ।
कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । शुक्रबार कम्बोडियाबाट काठमाडौँ ल्याइएको उनको शव शनिबार दिउँसो विर्तामोडस्थित निवासमा पुर्याइएको हो ।
युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएका बेला घटना भएको थियो । उनको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौँ शुभचिन्तकको भीड लागेको थियो ।
पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ । घटना लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए । आजै कनकाइ माईमा स्व. पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया