विराटनगर । विराटनगर–५ स्थित चाँदनीचोक तीनकुनेमा रहेको को–पाइलट अञ्जु खतिवडाको माइतीघर शोकमा डुबेको छ ।
काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । चालक दलका चार सदस्यसहित विमानमा कुल ७२ जना सवार थिए । विमानकी को–पाइलट अञ्जुको पनि सोही दुर्घटनामा परेर निधन भएको थियो ।
को–पाइलट अञ्जुको विराटनगरस्थित माइतीघरमा ८९ वर्षीया हजुरआमा शुभद्रा खतिवडाको आँसु थामिएको छैन । बाबु गोविन्दराज खतिवडा र आमा इन्दिरा खतिवडा विमान दुघर्टनाग्रस्त भएको खबर सुन्नासाथ सोही दिन विराटनगरबाट काठमाडौँ प्रस्थान गरेकी थिइन् ।
विमान दुघर्टनामा परी नातिनीको निधन भएको खबरले हजुरआमा शुभद्रा विक्षिप्त भएकी छन् । अञ्जुलाई सम्झेर हजुरआमा भक्कानिने गरेकी छन् । नातिनीको वियोगमा उनले खानपिउनसमेत छाडेकी छन् ।
छिमेकी र आफन्त को–पाइलट अञ्जुको माइतीघरमा पुगेर शुभद्रालाई सान्त्वना दिने काम गरिरहेका छन् । तर हजुरआमा बोल्नासाथै नातिनी सम्झेर भक्कानिने गरेकी छन् । हजुरआमाले नातिनीमा अदम्य साहस रहेको र जिम्मा लिएको काम पूरा गरेरै छाड्ने गरेको बताइन् । उनले नातिनी अञ्जुसँग विमान दुघर्टनाको १५ दिनअघि भेट भएको बताइन् । विमान ‘हल्ट’ गर्नुपर्दा विराटनगरमा छँदा को–पाइलट अञ्जु माइतीमै रात्रिविश्राम गर्ने गर्थिन्।
भेटमा हजुरआमाले नातिनी अञ्जुलाई माघे सङ्क्रान्तिमा ज्वाइँलाई लिएर माइती आउन निम्ता दिएकी थिइन् । तर निम्ता अधुरै रह्यो । अञ्जुलाई पुलाउ र तारेको आलु खुबै मनपर्ने भन्दै हजुरआमा शुभद्राले माइतीको पक्का घर पनि अञ्जु आफैँले ठड्याएको बताइन् ।
छोरा गोविन्द जागिरमा र बुहारी इन्दिरा घरधन्दामा व्यस्त रहने हुँदा आफ्नै काखमा नातिनीलाई खेलाएर हुर्काएको र साथीको झैँ सम्बन्ध रहेको हजुरआमा शुभद्राले बताइन् ।
फूपू प्रमिला सुवेदीले गत साउन १७ गते हजुरबुवा वेदनाथ खतिवडाको वार्षिक श्राद्धको सम्पूर्ण काम भदैनी अञ्जुले आफ्नो जिम्मामा लिएर फत्ते गरेको बताइन् । काका पुण्यप्रसाद खतिवडाले भतिजी अञ्जुमा कहीँकतै खोट लगाउने ठाउँ नभएको बताए ।
उनी पनि अञ्जुलाई आगोले कति पोल्यो होला भन्दै भक्कानिए । मिलनसार स्वभाव र अत्यन्तै बाठी अञ्जुले पहिलो श्रीमानको विमान दुघर्टनामा नै निधन भएपछि शोकलाई शक्तिमा बदल्दै आफैँ पनि विमान चालक बनेको काका पुण्यप्रसादले बताए ।
दुघर्टनाको दिन पनि बिहान को–पाइलट अञ्जुले माइतीमा रहेका आफ्ना बाबुआमासँंग टेलिफोनमा कुराकानी गरेको काका पुण्यप्रसादले बताए ।
को–पाइलट अञ्जुको पहिलो श्रीमान् दीपक पोखरेलको पनि यति एयरलाइन्सको विमान दुघर्टनामा नै निधन भएको थियो । पोखरेलको निधनपछि अमेरिकाबाट विमान उडाउने तालिम लिएकी खतिवडा यती एयरलाइन्समा को–पाइटलको रूपमा कार्यरत थिइन् ।

प्रतिक्रिया