अमेरिकामा प्राविधिक समस्याका कारण सबै आन्तरिक उडानमा लगाइएको रोक हटाइएको देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएए जनाएको छ । यसअघि त्यहाँको नोटिस टु एयर मिसन्स सिस्टमको नियन्त्रण प्रणालीमा खराबी देखिएको बताइएको थियो ।
यस अवरोधका कारण चार हजारभन्दा धेरै उडान ढिलो र ६ सय भन्दा धेरै उडान रद्द भएका थिए । समस्याहरू समाधान हुन थाले तापनि कम्तीमा इस्टर्न टाइम अनुसार विहानको ९ बजेसम्म कुनै उडान नहुने जनाइएको थियो ।
देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएएका अनुसार ‘देशभरी नै प्रणालीमा समस्या देखिएको’ थियो । विमान चालकहरूलाई विमानको हवाई मार्गमा हुनसक्ने सम्भावित खतराबारे सावधान गराउने उक्त प्रणालीमा अवरोध देखिएको उक्त निकायले जनाएको छ ।
यसअघि नै आकासमा रहेका सबै उडानहरू अवतरणका लागि सुरक्षित रहेको एफएएले जनाएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस अवरोधका बारेमा जानकारी गराइएको र यतिखेर साइबर हमलाको कुनै प्रमाणहरू नरहेको ह्वाइटहाउसले जनाएको छ ।
पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति बाइडनले यतिखेर उड्डयन निकायलाई घटनाको कारण थाहा नभएको तर केही घण्टाभित्रै कारणको छनक पाइने बताएका छन् ।

प्रतिक्रिया