काठमाडौं । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस नेता टेकबहादुर गुरुङ सांसद पदबाट निलम्बनमा परेका छन् । गुरुङविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले उनी निलम्बनमा रहेका संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।
महासचिव गौतमले मंगलबार जारी गरेको सूचनामा गुरुङविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुन व्यवस्था कार्यान्वयन गरिएको उल्लेख छ ।
२०७५ माघ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री रहेका गुरुङसमेतलाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियारले गुरुङसहित नेकपा एमालेका नेता एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने समेत १४ जनालाई विपक्षी बनाएको छ। अख्तियारले विपक्षी बनाइएकाहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद मागदाबी गरेको छ।


प्रतिक्रिया