गठबन्धन बाहिरबाट सरकार बनाउने कसरत नगर्न प्रधानमन्त्रीलाई पार्टीका महिला सांसदको सुझाव


काठमाडौं । नेपाली कांग्रेसका महिला सांसदहरुले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँगको छलफलमा महिला सांसदहरुले अहिलेको अवस्थामा गठबन्धनभित्रैबाट सरकार गठन हुनुपर्ने र पहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिएका हुन् ।

निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बनेका कारण पनि अवको सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिएको कांग्रेस सांसद रमा कोइराला पौड्यालले जानकारी दिइन् । उनले निर्वाचनमा जाँदा गठबन्धनसंगै मत मागेकाले गठबन्धन बाहिरबाट सरकार बनाउन नहुनेमा आफूहरुको जोड रहेको बताइन् ।

छलफलका क्रममा देउवाले गठबन्धनबीच समझदारीपूर्वक छलफल भइरहेको जानकारी गराएका थिए। आइतबारसम्ममा गठबन्धनभित्र सहमति जुट्ने सभापति देउवाले बताएको सांसद पौड्यालले जानकारी दिइन्।

उनले नेपाली काँग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्ने भन्ने नरहेको भन्दै यी बाहेकका अन्य उपराष्ट्रपति सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरुको पदहरुमा गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डा हुनुपर्ने बताइन् ।