नाइजेरियामा सेनाको कारबाहीमा बोको हरामका एकसय भन्दाबढी लडाकूको मृत्यु


नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाका मारिएका छन् । यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना अतिवादी मारिएको बताएका छन् ।

ती अधिकारीकाअनुसार गएका तीन हप्ता यता यहाँ भएका कारबाहीका क्रममा ती अतिवादी मारिएका हुन् ।

नाइजेरियामा केही वर्षदेखि हत्या तथा आतङ्क जारी नै राखेका बोको हरामका लडाकाहरुले पछिल्लो समयमा यहाँका सैनिक तथा प्रहरी पोष्ट एवं सुरक्षा अधिकारीमाथि नै हमला गर्ने गरेका छन् ।

यस क्रममा यहाँको सेनाले नाइजेरियाको उत्तरी क्षेत्रमा बोको हरामका विरुद्धमा सशक्त कारबाही अघि बढाएको छ । ती क्षेत्रमा व्यक्तिगत सम्पत्ति नष्ट गर्नुका साथै सरकारी निकायका कार्यालयहरुमा पनि उनीहरुले आगजनी गर्ने गरेका समाचारका आधारमा सेनाले सो कारबाही अघि बढाएको हो ।

नाइजेरियाको राष्ट्रिय सेनाका प्रवक्ता मुसा दनमद्नीले सो कुराको जानकारी दिएका हुन्  । उनले नाइजेरियाको उत्तरी क्षेत्रमा यहाँका बोको हराम र इस्लामिक स्टेटका विरुद्धमा सेनाले कारबाही थालेको बताए।

बोको हराम आतङ्ककारी समूहका कारण यहाँका हजारौँ नागरिकको ज्यान गएको छ भने उनीहरुको हत्या र आतङकका कारण दशौँ हजार नागरिक विस्थापित पनि भएका छन् ।