गगन थापा ।
हिजो अत्यन्त सौहार्दपूर्ण ढङ्गले सम्पन्न नेपाली कांग्रेस संसदीय दलको निर्वाचनले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास र प्रक्रियालाई थप सुदृढ बनाएको छ । निर्वाचनका क्रममा देखिएको आम उत्साह र चासोले हामीलाई पार्टी रुपान्तरण र सांगठनिक सुदृढीकरणका लागि अझ समर्पित भएर लागिरहन ठूलो ऊर्जा थपेको छ । प्रक्रियामा देखिएको उत्साह जस्तै निर्वाचनको परिणामलाई पनि हार्दिकतापूर्वक लिएर कमीकमजोरीको विश्लेषण गर्दै, सांसद साथीहरूसँग निरन्तर सहकार्य गर्दै आगामी यात्रा अगाडी बढाउन प्रतिबद्ध छु ।
निर्वाचनमा नेपाली कांग्रेसका सबै सांसदज्यूहरूले आफ्नो विवेक र मताधिकार प्रयोग गर्नुभयो । यो उहाँहरूको छनोटको लोकतान्त्रिक अधिकार हो । मलाई मत दिन नसके पनि यो प्रक्रियामा सहभागी भएर मतदान गर्ने सांसद साथीहरूको चयनप्रति उच्च सम्मान गर्दै पार्टीमा आफ्नो सत्कर्मले हरदम उहाँहरूको मन जित्ने प्रयास गरिरहने छु । आन्तरिक निर्वाचनको यो परिणामलाई लिएर विभिन्न अनुमानका भरमा विश्लेषण गर्नु र नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन । त्यसैले, कसैका प्रति कुनै पनि टिकाटिप्पणी नगर्न र संयमताका साथ आफ्ना धारणा राख्न म पार्टीका साथीहरू र शुभेच्छुकहरूमा विनम्रतापूर्वक अनुरोध गर्दै पार्टी रुपान्तरण र राजनीतिमा परिवर्तनका लागि थप ऊर्जाशील हुन आग्रह गर्दछु।
निश्चय नै पार्टी गतिशील भइदियोस् भन्ने आम चाहना अनुरुप किन अपेक्षित परिणाम आउन सकेन भन्ने विषयमा समीक्षा गर्दै नयाँ ढङ्गले पार्टीलाई गतिशील बनाउन हामी निरन्तर प्रयत्नशील रहने छौं । यो अन्त्य होइन प्रारम्भ हो । पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ । यो निर्वाचनले त्यो यात्रामा थप गति दिएको छ, बल पुर्याएको छ। सबै सांसदज्यूहरू, पार्टीका अग्रज तथा साथीहरूसँग मिलेर पार्टी रुपान्तरण र मुलुकको समुन्नतिका लागि आगामी दिनमा म नथाकिकन अझ प्रतिबद्ध भएर लागिरहने प्रण गर्दछु। यही समर्पित प्रयत्नले लोकतान्त्रिक प्रक्रिया जस्तै परिणाम पनि उत्साहजनक बनाउने ठाउँमा हामी एकदिन अवश्य पुग्नेछौं भन्ने मलाई विश्वास छ ।
आदरणीय अग्रज तथा साथीहरू एवं शुभेच्छा प्रकट गर्ने सबै नेपाली आमाबुबा, दिदीबहिनी र दाजुभाइप्रति पुनः हार्दिक आभार प्रकट गर्दछु ।
जय नेपाल!

प्रतिक्रिया