चुनावपछि मुलुकलाई नीतिविहीन र विचारविहीन बनाउने प्रयास भइरहेको छः महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यविहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बचताएका छन् ।

मंगलबार पार्टीका नवनिर्वाचित सांसदहरुसँगको भेटघाट कार्यक्रममा महासचिव पोखरेलले नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको बताए ।

तत्कालनि अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने बताए । उनले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने खालका गतिविधिहरु भइरहेको बताए ।

महासचिव पोखरेलले चुनावपछि मुलुकको राजनीतिमा शुरु भएका अस्थिरताका खेलहरुले नेकपा एमालेले अघि सारेका मान्यताहरु सही साबित गरिदिएको दाबी गरे । उनले राष्ट्रिय राजनीतिमा नेकपा एमाले बलियो शक्तिका रुपमा स्थापित भइरहेको बताए ।

उनले भने,‘यदि पुस ५ गते हाम्रो पार्टीको नेतृत्वमा जनतामा जाने फैसलालाई कार्यान्वयन भएको भए आज मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने थियो । आज जुन प्रकारको राजनीतिक अस्थिरताका प्रवृत्तिहरु देखापरेका छन्, त्यसबाट हामीले मुलुकलाई सही बाटो प्रदान गर्न सक्थ्यौँ । तर मुलुकलाई नीतिबिहीन, विचारबिहीन, लक्ष्य, उद्देश्यविहीन राजनीतितर्फ अघि बढाउने प्रयास भएको छ।’

महासचिव पोखरेलले सबै दलहरु मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दी गरेपनि जनताले लोकप्रिय मतका साथ आफ्नो नेतामा ओलीलाई नै चुनेको बताए ।