ट्रम्पमाथि चारवटा फौजदारी अभियोग लगाउन सिफारिस


दुई वर्षअघि अमेरिकाको संसद रहेको क्यापिटल हिलमा भएको दङ्गाको छानबिन गरिरहेको अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले देशद्रोहसहितका फौजदारी अभियोगहरू सामना गर्नुपर्ने सिफारिस गरेको छ ।

डेमोक्रेटिक नेतृत्वको उक्त समितिले न्याय मन्त्रालयलाई ट्रम्पमाथि अभियोजनको सिफारिस गर्न सर्वसम्मत रूपले मतदान गरेको हो । संसदीय समितिले ट्रम्पकी एकजना पूर्व सहयोगी होप हिक्सले ट्रम्पलाई उनको विरासतबारे दिएको चेतावनीको एउटा नयाँ क्लिप समेत सुनाएको छ ।

ट्रम्पका समर्थकहरूले सन् २०२१ को जनवरी ६ मा कङ्ग्रेसमा दङ्गा मच्चाउँदै जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने प्रक्रियामा अवरोध पुर्याएका थिए । ट्रम्पले आफूले कुनै गल्ती नगरेको एक विज्ञप्तिमार्फत् बताउँदै उक्त समितिलाई ‘कङ्गारु कोर्ट’ को आरोप लगाएका छन् ।

उनले यस अनुसन्धानलाई आफूलाई पुनः राष्ट्रपति निर्वाचनमा भाग लिन रोक्ने प्रयास भएको बताएका छन् । उक्त दङ्गाबारे झण्डै १८ महिना अनुसन्धान गरेपछि तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सको उक्त समितिले सोमबारको आफ्नो अन्तिम बैठकमा ट्रम्पले चारवटा अभियोग सामना गर्नुपर्ने सिफारिस गरेको हो ।

उनले देशद्रोहका निम्ति दुरुत्साहन, सहायता, सहयोग गरेको, औपचारिक प्रक्रियामा अवरोध पुर्याएको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको र झुटो वक्तव्य बनाउने षड्यन्त्र गरेको अभियोग लगाइएको छ ।